२८ बैशाख २०८१, शुक्रबार

शीर्ष नेताले सभामा प्रयोग गर्ने भाषा गैर-राजनीतिक र अभद्र

oli prachanda deuba
फाइल फोटो

राजनीतिक दलका शीर्ष नेतालाई सामान्यता सबैले सम्मान गर्छन् । तर तीनै सम्मानित नेताले चुनावी आम-सभामा प्रयोग गरेको भाषा सुन्दा तपाईँलाई कस्तो लाग्छ ? शीर्ष नेतादेखि उम्मेदवार स्वयम् पनि एजेन्डामा नभएर आरोप प्रत्यारोपमा उत्रँदा कार्यकर्ता उत्साहित भए पनि सामान्य मतदाता चाहिँ निराश हुने गरेका छन् । 

चुनावी सभालाई सम्बोधन गर्न दलका प्रमुखसहित प्रभावशाली नेता अहिले देश दौडाहामा छन् । नेताका भाषण सुन्न टाढा टाढाबाट मतदाता भेला हुन्छन् । तर, शीर्ष नेताले सभामा प्रयोग गर्ने भाषा भने गैर-राजनीतिक मात्र नभएर अभद्रसमेत हुने गरेको छ ।

पार्टीका प्रतिबद्धता सुनाउने र बुझाउने भन्दा पनि शीर्ष नेताहरू नै अर्का पार्टीका नेतालाई गाली गर्नमा बढी समय खर्चिने गरेका छन् । विपक्षीलाई गालीगलौज गर्नेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली सबैभन्दा अघि देखिन्छन् ।

दार्चुलाबाट चुनावी अभियान थालेका ओली जति-जति पूर्व लाग्दै छन् त्यति नै बढी आरोप प्रत्यारोपमा उत्रिरहेका छन् । त्यसो त सत्ता गठबन्धन दलका नेताहरू पनि कम चाहिँ छैनन् । उनीहरूले विशेष गरी एमाले अध्यक्ष ओलीको उछितो काढ्ने गरेका छन् ।

चुनावी सभामा भाषण गर्दा होस् या मत माग्न घर-घर पुग्दा खरो रूपमा आरोप प्रत्यारोपमा उत्रिनेमा आफूलाई वैकल्पिक शक्ति मान्ने दलदेखि स्वतन्त्र उम्मेदवारसम्म छन् ।

उनीहरूले पनि विपक्षी दल वा उम्मेदवारमाथि अनेक लाञ्छना लगाएर आफू चोखो देखिने रणनीति अपनाएका छन् । तर यसलाई मतदाताले भने रुचाएको पाइँदैन ।

राजनीतिक दल तथा उम्मेदवारले मत माग्दा आफूलाई अरू भन्दा फरक देखाउनुपर्छ । त्यो भनेको अरूलाई गाली गरेर होइन । आफ्ना विचार र सिद्धान्तसँगै एजेन्डा प्रस्तुत गरेर मतदाताको मन जिते मात्र मुलुकको नेतृत्व गर्न सुहाउँछ ।