५ जेष्ठ २०८१, शनिबार

पाैडेलकाे दाबी: एमाले एक्लैले बहुमत ल्याउँछ

bishnu poudel
फाइल फोटो

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नु भएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार समेत रहनुभएका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने जिकीर समेत गर्नुभयो ।

शनिबार बुटवलमा आयोजित खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुको भेलामा बोल्दै उहाँले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासको माध्यामबाट मुलुकको प्रतिष्ठालाई अझै उचाईमा पुर्याउने आश्वासन समेत दिनुभयो।

उपाध्यक्ष पौडेलले निर्वाचन पछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै त्यसपछि मुलुकको समृद्धिको अभियानले गति लिने बिश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले रुपन्देही २ मा एमालेलाई धेरै फराकिलो मतान्तरले विजयी गराउनका लागि सहयोग गर्न खेलाडीहरुलाई आग्रह समेत गर्नुभयो ।