१६ चैत्र २०८०, शुक्रबार

भारतीय सञ्चारमाध्यमको समाचारप्रति नेपाली सेनाको आपत्ति, भन्यो- प्रोपगान्डाबाट सचेत होऔँ

army headquarter

भारतीय सञ्चारमाध्यममा नेपाली सेनाको बारेमा प्रकाशि समाचार प्रति नेपाली सेनाले आपत्ति जनाएको छ ।

नेपाली सेनाले हिन्दुस्तान टाइम्समा प्रकाशित एक समाचारले दुई देश तथा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासलाई नकारात्मक असर पुर्‍याएको भन्दै आपत्ति प्रकट गरेको छ। सेनाले प्रोपगान्डाबाट सचेत रहन पनि सबैलाई आग्रह गरेको छ।

हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित समाचार र टीएफआई पोष्टमा अक्षय नारंगद्वारा लेखिएको समाचारप्रति सेनाले आपत्ति जनाएको हो ।

भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित रहेको बताउँदै नेपालमा विभाजन ल्याउने कुत्सित मनसायले आएको अफवाहमा विश्वास नगर्न नेपाली नागरिकलाई अनुरोध गरेको छ ।

हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताले लेखेको समाचारको शीर्षक थियो- प्रधानमन्त्री ओलीलाई ठूलो क्षति, नेपालको नयाँ राजनीतिक नक्सालाई बाधा।

यसैगरी टिफीपोष्ट डटकममा अक्षय नाराङले लेखेको समाचारको शीर्षक थियो- भारतीय सेना प्रमुखको वक्तव्य गलत भएको पुष्टि गर्न प्रधानमन्त्री ओलीले नेपाली सेना प्रमुखलाई निर्देशन दिए तर सेना प्रमुखले जवाफ दिए: नो, थ्याङ्कस।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि अर्को विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ।

नेपाली सेनाले राष्ट्रिय एकतालाई कमजोर बनाउने र विभाजनतर्फ लैजाने शक्तिहरु क्रियाशील भइरहेको पनि उल्लेख गरेको छ।

यस्तो छ सेनाको विज्ञप्ति

नेपाली सेनाको गम्भिर ध्यानाकर्षण

१. मिति २०७७ जेष्ठ १४ गते बुधबार (27 May 2020) www.hindustantimes.com मा शिशिर गुप्ताद्धारा लिखित ‘In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock ‘शिर्षक तथा मिति २०७७ जेष्ठ १५ गते विहिवार (28 May 2020) tfipost.comमा AkshayNarangद्धारा लिखित ‘Oli ordered Nepal Chief of Army to rebut Indian Army Chief’s remarks, the Nepalese General said ‘No thanks’शिर्षकमा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२. उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।

३. राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ। यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।

४. साथै आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन नेपाली सेना अनुरोध गर्दछ ।