२३ बैशाख २०८१, आईतवार

बिहानैदेखि खुल्यो बालगोपालेश्वर मन्दिर, दाजुभाइ र दिदीबहिनी नहुनेको टीका

ranipokhari1636163803

काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहान ५ बजेदेखि नै खुलेको छ ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई बालगोपालेश्वर मन्दिरमा गएर पूजा आराधना गरेर टीका लगाउने गर्छन् । 

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएको हो  ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । 

खञ्जनेश्वर महादेवमा भक्तजन

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि विसं २०७७ सम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन् ।

    सम्बन्धित समाचार...