
तिहारमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको छ । कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारको २ दिन (धनतेरस र धनवन्तरी जयन्ती) मा दैनिक ४५ किलोग्रामसम्म सुन कारोबार भएको छ ।
दसैंको समयमा दैनिक २० किलोग्रामसम्म सुनको व्यापार भएको र त्यसपछि देशभर दैनिक १० देखि १५ किलोग्रामका दरले सुनको बिक्री हुँदै आएको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताउनु भयो । दसैंपछि सुकेको सुनचाँदीको कारोबार तिहारमा एकाएक बढेको उहाँले जानकारी दिनुभयो ।
शाक्यका अनुसार २ दिनमा गरी कूल ९० किलोग्रामभन्दा बढी सुन बिकेको छ । यो वर्ष २ दिन धनतेरस परेर पनि व्यापार बढी भएको व्यापारीहरूको भनाइ छ । यस्तै, २ हजार किलोग्रामभन्दा बढी चाँदी बिक्री भएको महासंघले जनाएको छ ।