
नेपालको व्युटी बिजनेशमा बीग ब्युटी बिजनेस वुमनको रूपमा सुषमा महरालाई चिनिने गरेको छ ।
विगत २५ वर्षदेखि सौन्दर्य व्यवसायमा सुषमाको ठुलो योगदान रहेको छ । काठमाडौँ मल स्थित चौथो तल्लामा स्थापित फेसियल हाउस लेडिज एण्ड जेन्टस् सैलुन सञ्चालनमा ल्याएकी सुषमाले काठमाडौँ मलको अलावा चाबहिल, सिटिसि मल, पोखरामा ,सुर्खेत र धनगढीमा समेत फेसियल हाउसको विस्तार गरेकी छन् ।
१ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुषमा आफै पनि अहोरात्र खट्ने मेहनती वरिष्ठ सौन्दर्य विज्ञ हुन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रबन्ध निर्देश तथा ब्युटी एसोसिएसन अफ नेपाल तथा महिला च्यामबरको आजीवन सदस्य समेत रहेका सुषमाले कुनै बेला कपडा व्यवसाय तथा बुटिक सञ्चालन गरेकी थिइन् ।
यद्यपि, सौन्दर्य व्यवसायमा नै सुषमा जमेकी छन् । यसै व्यवसायबाट सुषमाले नाम, दाम, इज्जत र प्रतिष्ठा कमाउन सफल भएकी छन् । सौन्दर्य व्यवसाय मार्फत हजारौँ युवा–युवतीहरूलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य सुषमाबाट भएको छ ।
यस बाहेक समाज सेवामा पनि सुषमाको सक्रियता रहेको छ । असहाय बालबालिका तथा बृद्धबृद्धाहरुलाई सक्दो सहयोग गर्ने कार्य पनि सुषमाबाट हुंदैआएको छ।
विसं.२०७२ साल वैशाख १२ गते आएको महाभूकम्पबाट पीडितहरूको सहयोगमा अत्यन्त दत्तचित्त भएर सुषमाले सक्दो सहयोग गरेर पुण्य कमाएकी थिइन् । त्यसै गरेर, क्यान्सर पीडितहरूका लागि कपाल दान गर्नेदेखि कोरोनाको कहरको बेला समेत विभिन्न राहत सामाग्री वितरण गरेर आयामिक कार्य गर्दै आएको कसैबाट छिपेको छैन।
निडर तथा स्वाभिमानी स्वभाव अनि स्पष्ट वक्ता सुषमा आफै साहसी नारी पनि हुन् । अन्याय र अत्याचारको सदा विरोधी रहंदैआएकी वरिष्ठ सौन्दर्य विज्ञ सुषमा महराका हरेक कार्यमा श्रीमान् उज्वलजंग पराक्रम शाहको साथ र सहयोग रहेको छ ।
श्रीमान् र परिवारको साथ र सहयोगका कारण बीग ब्युटी बिजनेशमा आफूले सफलता प्राप्त गरेको दिल खोलेर सुषमाले बताएकी छन् । आँट, धैर्य र साहसको प्रतीक सुषमा महराको भनाईमा स्वाभिमानमा बाँच्नुको मज्जा नै बेग्लै हुने गर्दछ । हातमा सीप भएको मान्छे कहिले पनि भोको हुंदैन्।