१७ बैशाख २०८१, सोमबार

चलचित्र ‘नालापानी’ हेरेर दर्शक र कलाकारले भने- ‘मुटु दह्रो बनाएर हेरियो’

Nalapani Show

शुक्रवारदेखि नेपालभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘नालापानी’ हेर्दा हेर्दा एकदमै जोश जाँगर जागृत भएको प्रतिक्रिया दर्शकहरूले दिएका छन् । उनीहरूले मातृभूमिको रक्षाको लागि प्राण त्याग्न तयार वीर नेपालीहरूको गौरवगाथा चलचित्रमा हेर्न पाउनु अहोभाग्य रहेको बताएका छन् । शुक्रवार विभिन्न हलहरूमा चलचित्र हेरेका दर्शकहरूले बलभद्र जस्ता महान् योद्धाहरूको कारण आज हामीले सार्वभौम सम्पन्न नेपाली भनेर गर्व गर्न पाइरहेको महसुस गरेको बताए ।

त्यस्तै, शुक्रवार साँझ काठमाडौँमा अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कलाकार निर्मल शर्मा तथा चलचित्रको टिम र पत्रकारहरूले ‘नालापानी’ हेरेर प्रतिक्रिया दिएका छन् । अभिनेता रमेश उप्रेतीले यदि हामी सच्चा नेपाली हौँ र हाम्रा वीर पुर्खाहरूको योगदानलाई सम्मान गर्न चाहन्छौँ भने हामीले एक पटक यो चलचित्र हेर्नुपर्ने बताए । जसले नेपाली भनेर गौरव महसुस गर्नुहुन्छ, सबैले हेर्नुपर्ने उनको भनाई थियो । उप्रेतीले हामीले पुस्तकमा पढ्दा थाहा नभएका कैयन कुराहरू पनि यो चलचित्रमा देख्न सकिने बताए ।

निर्देशक दीपाश्री निरौलाले आफूले मुटु दह्रो बनाएर यो चलचित्र हेरेको बत्ताइन् । ‘ऐतिहासिक कुराहरूलाई चलचित्रमा ल्याउन र यसलाई हलमा बसेर हेर्न पनि दह्रो मुटु चाहिन्छ । यसलाई व्यापक बनाउन आफूले साथ दिनेछौँ’, उनले बत्ताइन् ।

अभिनेता दीपकराज गिरीले यो चलचित्रलाई आँखाले नभई मनले हेर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो यति गर्विलो इतिहास हुँदा हुँदै पनि हामीले चाहेको जसरी ती कथाहरूलाई पर्दामा देखाउन सक्दैनौँ । यो चलचित्रको निर्माणपक्षले त्यो प्रयास गरेको छ जुन अत्यन्त दह्रो इतिहास बनेर बसेको छ ।’

निर्देशक उज्ज्वल घिमिरेले चलचित्रले नालापानी युद्धको कथा पूर्ण गरेको बताए । निर्माता अशोक शर्माले नेपालमा बनेका थुप्रै ऐतिहासिक चलचित्रहरू भन्दा यो चलचित्र धेरै राम्रो बनेको उल्लेख गरे । उनले भने यो चलचित्रलाई मनोरञ्जनको रूपमा मात्र हेरिनु नहुने जिकिर गरे । उनले भने, ‘आज हामी नेपाली भनेर बाँच्ने आधार कसरी बनेको थियो भन्ने थाहा पाउन हरेक नेपालीले यो चलचित्र हेर्नैपर्छ ।’

कलाकार निर्मल शर्माले आफूले तीन पटक यो चलचित्र हेरेको बताए । उनले एक नेपाली हुनुको गर्व, राष्ट्रियताको कुरा र आफ्नो भूमि रक्षाको लागि त्यो समयमा नेपाली सेना र बलभद्रले गरेको साहसलाई बिर्सन नदिने गरी यो चलचित्र बनेको हुँदा पाठ्यक्रमको एउटा सामग्रीको हिसाबले राखिनुपर्ने विचार राखे ।

नेपाल अङ्ग्रेज युद्धका बडाकाजी अमरसिंह थापाको भूमिका निर्वाह गरेका अभिनेता अर्जुनजंग शाहीले यस चलचित्रमा निर्देशक रिमेश अधिकारीको मेहनतको प्रशंसा गरे । अभिनेत्री पुजना प्रधानले दर्शकले आफ्नो इतिहास भनेर हेरेको र अत्यन्त मन परेको प्रतिक्रिया पाएको बत्ताइन् ।

ब्रिटिस सेनाका क्याप्टेन बनेका अभिनेता विशाल पहारीले यो चलचित्र हेर्दा त्यो पात्र आफू नै हो भन्ने महसुस नै नगरेको बताए । उनले भने, ‘चलचित्र हेरिरहँदा आफैले निभाएको पात्रलाई साँच्चिकै दुस्मनको रूपमा देखेँ । चलचित्र हेर्दा हेर्दै खुकुरी भएको भए पर्दामा नै हानौंजस्तो महसुस भयो ।’ निर्देशक अधिकारीले दर्शकले एकदमै रुचाएको प्रतिक्रिया दिए । उनले आफूले चलचित्र बनाएर बोल्नुपर्ने सबै बोलिसकेको र सबै नेपालीले हेर्नुपर्ने बताए ।

    सम्बन्धित समाचार...