१५ बैशाख २०८१, शनिबार

‘डमी’ ट्राफिक प्रहरीको सहारा सडक अनुशासन पालना गराउन

dummy traffic

ट्राफिक व्यवस्थापन चुस्त बनाउन ‘डमी’ ट्राफिक प्रहरीले सघाएको छ । जनशक्तिको कमीका कारण हरेक स्थानमा ट्राफिक प्रहरी खटिन असम्भव भएपछि सडक अनुशासन कायम गराउन ‘डमी’ ट्राफिक प्रहरीको सहारा लिइएको छ ।

‘डमी’लाई विराटनगर–बुढीगङ्गाअन्तर्गत निमुवासम्मको नौ स्थानको सडकको मध्यभागमा खडा गरिएको छ । ‘डमी’ ट्राफिक प्रहरीले सडक दुर्घटनामा अङ्कुश लगाउन मद्दत पु¥याएको छ भने मापसे गरेर सवारी कुदाउनेलाई समेत सतर्क तुल्याएको छ । बीच सडकमा ठडिएका ‘डमी’ ट्राफिक प्रहरी असरदार देखिएको छ र ‘डमी’ भएको स्थानमा मापसे सेवनबाट हुने सवारी क्षतिको आँकडामा आश्चर्यजनक सुधार आएको छ ।

सडक दुर्घटना न्यूनीकरण, सचेतना र सतर्कताका लागि राखिएका ‘डमी’ ट्राफिक प्रहरी नक्कली भए पनि दुरूस्तै देखिन्छ । बीच सडकको डिभाडरमा टाँगिएका ‘डमी’ ट्राफिक प्रहरीले सडक दुर्घटना हुन नदिन प्रभावकारी भूमिका खेलेको छ ।

‘डमी’ ट्राफिक प्रहरीले चालकमा मनोवैज्ञानिक प्रभाव पारेको छ । कुनै हर्कत नगरी उभिए पनि ‘डमी’ ट्राफिक प्रहरीले सडक सुशासन कायममा सफलता पाएको महशुश सर्वसाधारणले समेत गरेका छन् । परबाट ‘डमी’ को आकार प्रकार सक्कली ट्राफिक प्रहरी झैँ देखिन्छ । ‘डमी’ ट्राफिक प्रहरीलाई टाढाबाट सक्कली ठानेर जथाभावी सवारी साधन चलाउने चालकले समेत सतर्कतापूर्वक सवारी चलाउने, लेन नमिच्ने, जथाभावी ओभरटेक गर्न आँट नगरेकोल दुर्घटनाको तथ्याङ्क सुध्रिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको ‘डमी’ ट्राफिक प्रहरी राखेर ट्राफिक सचेतना फैलाउने प्रयोग सफल देखिएको छ । सडक अनुशासन पालना गर्न गराउन ठाउँ–ठाउँमा ‘डमी’ ट्राफिक प्रहरी राख्ने कार्यको चौतर्फी प्रशंसा भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार कार्कीले मोरङमा ट्राफिक प्रहरीको जनशक्ति न्यून भएको र सबै ठाउँमा ट्राफिक प्रहरी पुग्न नसक्ने भएकाले दुर्घटनाको जोखिम भएका स्थानमा ‘डमी’ ट्राफिक प्रहरीबाट काम चलाइएको बताउनुभयो । वहाँले सर्वसाधारणमा निर्जीव ‘डमी’ ट्राफिक प्रहरीको प्रभाव सक्कली ट्राफिक प्रहरी झैँ पर्ने गरेको बताउनुभयो ।

कार्कीले ‘डमी’ ट्राफिक प्रहरी राखेपछि आश्चर्यजनकरूपमा गम्भीर प्रकृतिका दुर्घटनामा कमी आएको बताउनुभयो । ‘डमी’ ट्राफिक प्रहरीले दुर्घटनाको सम्भवाना ५० प्रतिशतले घटाएको, चालकमा सतर्कताको भावना पैदा गरेको र सचेतना फैलाउने कार्यमा सहायक सिद्ध भएको उहाँको भनाइ थियो ।

ट्राफिक प्रहरी नपुगेको ठाउँमा ‘डमी’ ट्राफिक प्रहरी राख्दा मादक पदार्थ सेवन गरेर सवारी कुदाउनेको सङ्ख्यामा समेत कटौती भएको प्रमुख कार्कीले बताउनुभयो । उहाँले सक्कली र ‘डमी’ ट्राफिक प्रहरीबाट मात्र ट्राफिक व्यवस्थापन कायम गर्न नसकिने भन्दै सचेतना प्रवद्र्धनको कार्यक्रमलाई तीव्र पारिएको जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार...