१४ बैशाख २०८१, शुक्रबार

आज १३ औं गणतन्त्र दिवस

नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् ।

आज १३ औं गणतन्त्र दिवस देशभर मनाइँदै छ । आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिनको सम्झना गर्ने गरिन्छ ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।

सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिने गर्दथ्यो । तर गत वर्षबाट गणतन्त्र दिवसको विदा कटौती गरिएको छ । गणतन्त्र दिवसको दिन नभई संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक विदा दिएर राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय सरकारले गरेको छ ।

यसैबीच, गृह मन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ।  

मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको हो।

२०७२ साल जेठ १५ गते भने नेपालमा विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिको शोकमा गणतन्त्र दिवस मनाइएको थिएन ।

यस बर्ष भने विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रमको आयोजना भने गरिएको छैन् ।

देशमा गणतन्त्र आएको एक दशक बितिसक्दा पनि जनअपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनता उत्साहित हुन सकेका छैनन् ।