१७ बैशाख २०८१, सोमबार

सम्पुर्ण खेल समाचार- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: त्रिभुवन आर्मी क्लबको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल

310744180 5312471495542582 8052910319837364678 n

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीका चेतन थारुले एक गोल फर्काए ।

बिहीबारबाट सुरु फुटबलमा एनआरएनए र बागमतीले विजयी सुरुआत गरिसकेका छन् । 

ह्यान्डबल : आर्मीका दुवै टोली फाइनलमा

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत पुरुष ह्यान्डबलमा फाइलनमा स्थान बनाएको छ । योसँगै दुवै टोलीले कम्तिमा रजत पदक पक्का गरेका छन् । 

शुक्रबार पोखरा रंगशाला परिसरमा रहेको कभर्डहलमा सम्पन्न सेमिफाइनलमा घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशमाथि ५४–२१ को फराकिलो अन्तरमा जित हासिल गर्‍यो । गण्डकीको फाइनल यात्रामा चन्द्र थापा एक्लै १८ गोल गरे । 

गण्डकीले फाइनलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । आर्मीले शुक्रबारै भएको दोस्रो सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफमाथि २७–२२ को जित हासिल गरेको थियो ।

दोस्रो सेमिफाइनलमा पराजित टोलीका लागि सन्दीप कार्कीले एक्लै सात गोल गरे पनि त्यो सान्त्वनामा सिमित भयो । सेमिफाइनलमा पराजित दुई टोली लुम्बिनी र एपिएफले कांस्य पदकका लागि शनिबार प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ फाइनलमा दुई विभागीय टोली आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबारको सेमिफाइनलमा एपिएफले प्रदेश एक तथा आर्मिले गण्डकीमाथि जित हासिल गर्दै कम्तिमा रजत पदक पक्का गरेका थिए ।

पहिलो सेमिफाइनलमा एपिएफले २९–६ को प्रभावशाली जित हासिल गर्दा उमा राई एक्लैले सात गोल गरिन् ।

त्यस्तै अर्को सेमिफाइनलमा आर्मीले घरेलु टोली गण्डकीमाथि २४–९ को जित हासिल गर्‍यो । आर्मीको जितमा कल्पना थापाले सर्वाधिक सात गोल गरेकी थिइन् ।

सेमिफाइनलमा पराजित गण्डकी र प्रदेश एकले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दा आर्मी र एपिएफले स्वर्ण पदकका लागि एकअर्काको सामना गर्नेछन् । दुवै खेल शनिबार हुनेछ ।

प्रहरीको पुरूष हक्की टिमको विजयी सुरूवात

पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले समूह चरणको पहिलो खेल खेल्दै विजयी सुरूवात गरेको छ ।

पोखरास्थित गौरीशंकर खेल मैदान ह्याम्जामा भएको खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो । 

नेपाल पुलिस क्लबको लागि नरेन्द्र कार्कीले ३ गोल, गणेश सिंह ठगुन्नाले १ गोल, महेश धामीले १ गोल र शशी दर्लामीले १ गोल गरेका थिए । 

दुई समूहमा विभाजित पुरूष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लब समूह ‘बि’ मा रहेको छ । जसमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन् । 

नेपाल पुलिस क्लबले समूह चरणको अर्को खेल बागमती प्रदेशसँग असोज ३० गते खेल्नेछ ।

प्रहरीको पुरूष भलिबल टिमलाई पहिलो खेलमा सफलता

पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शुक्रबार बिहान भएको पुरूष भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा सफलता प्राप्त गरेको छ । 

पोखरा रंगशालामा सञ्चालित खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५–१६, २५–१२ र २५–११ को सोझो सेटमा पराजित गरेको हो । 

नेपाल प्रहरीको पुरूष भलिबल टिम समूह ’ए’ मा रहेको छ । जसमा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । 

नेपाल पुलिस क्लबले असोज २९ गते लुम्बिनी प्रदेशसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल खेल्नेछ । 

यस्तै, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत गोरखाको गोरखा नगरपालिका–७ गोरखा क्याम्पसको हलमा बिहीबार संचालन भएको बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडीहरूले सफलता प्राप्त गरेका छन् । 

बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडी पुनम प्रसाईं, आभा पुडासैनी, पूर्णिमा गुरूङ, सुबिर लामा र क्षितिज भण्डारीले सफलता प्राप्त गरेका हुन् ।

पुरुष भलिबलः पुलिस र गण्डकी विजयी

आयोजक गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विजयी सुरुआत गरेका छन् । 

पोखरा रंगशालामा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेकाे छ । पुलिसले कर्णालीमाथि २५-१६, २५-११ र २५-१२ को जित निकाल्यो । यस जितसँगै पुलिसले समूह ‘ए’ बाट क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । कर्णाली अंकविहीन हुँदा लुम्बिनीले कुनै खेल खेलेको छैन ।

यता, गण्डाकीले बागमती प्रदेशलाई ३-१ ले हराउँदै समूह डीको विजेता बनेको छ । समूह डी मा दुई टोली मात्रै थिए । गण्डकीले बागमतीलाई २५-२०,१५-२५,२५-१८ र २५-१३ ले पराजित गरेकाे छ। 

फेन्सिङः आर्मी टिम च्याम्पियन

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको पुरुष टिम इभेन्ट (इपी)मा विभागीय टिम त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । 

पोखरास्थित ब्याडमिन्टन हलमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ४५-२८ ले पराजित गरेसँगै आर्मी पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको छ ।

योसँगै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङ समापन भएको छ । कुल १२ स्वर्ण पदकमध्ये आर्मीले पाँच, बागमती प्रदेशले चार, एपिएफले दुई तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण पदक जितेका छन् । नवौं राष्ट्रिय खेलकुदको उद्घाटन भने आज हुँदैछ । 

महिला क्रिकेटः पुलिस र लुम्बिनी सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट खेलको समूह ‘बी’ मा लुम्बिनी प्रदेशमाथि ९७ रनको जित निकाल्दै नेपाल पुलिस क्लब विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । पुलिससँग पराजित बाबजुद लुम्बिनीले उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको छ ।

पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएको पुलिस यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको थियो । शीर्ष स्थानको पुलिसको तीन खेलमा ६ अंक छ भने दोस्रो स्थानको लुम्बिनीको तीन खेलमा तीन अंक छ । तेस्रो स्थानको प्रदेश एकको दुई खेलमा एक अंक छ भने चौथो स्थानको कर्णालीले अंक खाता खोल्न सकेको छैन ।

शुक्रबार पोखरा क्रिकेट रंगशालामा पुलिसले प्रस्तुत गरेको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा मात्र १५ रनमा सीमित भयो । लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । पुलिसकी ईश्वरी विष्टले चार विकेट लिइन् । यस्तै, हिरनमई रोय र कप्तान रुबिना क्षेत्रीले समान दुई तथा सबनम राईले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १२ रनको योगफल तयार पार्‍यो । पुलिसका लागि कविता जोशीले अविजित ४८ रनको योगदान गरिन् । उनले २९ बलमा ७ चौका र एक छक्का प्रहार गरिन् । यस्तै, सम्झना खड्काले २९ रन र अप्सरी वेगम १० रनको योगदान गरे । लुम्बिनीको बलिङमा सुस्मिता भुसाल र मनिसा रानाले समान दुई विकेट लिए ।

साइक्लिङ ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङ खेल भोलि (शनिबार) देखि शुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धाहुनेछ । 

डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा प्रतिष्पर्धा गराइनेछ भने रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट पोखराको याम्दी–हेम्जा सडकमा प्रतिस्पर्धा हुनेछ । 

साइक्लिङ खेलअन्तरगत शनिबार पोखराको तितेपानी रानीवन क्षेत्रको ट्रयाकमा डाउन हिल विधाको प्रतिस्पर्धा हुनेछ । त्यस्तै, आइतबार सोही क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुने र त्यसपछिका खेल याम्दी–हेम्जा सडकखण्डमा हुनेछ ।

४ विधाबाट साइक्लिङमा पुरुष महिला गरि ८ स्वर्ण, ८ रजत र ८ कास्यका लागि खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित समाचार...