२३ बैशाख २०८१, आईतवार

कसरी चिन्ने, कसरी विश्वास गर्ने ? घरदैलोमा रहेका उम्मेदवारसँग छैन घोषणापत्र

chunabi ghosana

उम्मेदवारहरु निर्वाचन प्रचारप्रसारमा निस्किसक्दा पनि प्रमुख दलहरुले घोषणापत्र तयार पारेका छैनन् । आफ्नो प्रतिबद्धता र आगामी ५ वर्षको कार्यकालमा गर्ने कामहरुको खाका दिएर उम्मेदवारलाई मतदातामाझ पठाउनुपर्नेमा दलहरुको यो हदसम्मको लाचारी किन ?

आसन्न निर्वाचनका लागि मनोनयन दर्तालगत्तै उम्मेदवारहरु मतदाताको घरदैलोमा छन् । पुरानै दल र तिनका पुरानै अनुहार, पुरानै बाचा र प्रतिबद्धतासहित मत माग्न तल्लिन छन् । मनोनयनको दिनसम्म टिकटकै रस्साकस्सीमा रहेकाले उम्मेदवारलाई मतदाता सामु कस्ता आश्वासन बाँड्ने भन्ने अन्योल त छ नै त्यसमाथि दलले घोषणापत्र समयमै नबनाइदिँदा अर्को संकट आइलागेको छ । तर, निर्वाचनका लागि दल दर्ता गर्दा नै निर्वाचन आयोगमा घोषणा पत्र बुझाउनुपर्छ ।

आयोगमा दल दर्ताका लागि उनीहरूले घोषणापत्र बुझाउने गरेका छन तर, त्यस्ता घोषणापत्र औपचारिकताका लागि मात्र हुन्छन । निर्वाचनमा होमिंदा दलले अलगै घोषणापत्र बनाउँछन । उम्मेदवार नै टुंगिसक्दा पनि दलका घोषणापत्र मतदातामा पुगेको छैन । स्वतन्त्र उम्मेदवारहरु पनि ३–४ महिनादेखिको गृहकार्यमा छन् ।

घोषणापत्र बनाएर कतिपयले त एक–दुईपटक घरदैलो नै गरिसकेका छन् । तर प्रमुख दलका उम्मेदवारहरु रित्तो हात मतदाताकोमा पुग्न बाध्य छन् । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विकास जस्ता विषयमा मतदाताले दलीय प्रतिबद्धता के हो भनेर सोधे उनीहरुले दिने जवाफ केही छैन । वर्षौंदेखि आवधिक निर्वाचन लडिरहेका दलहरुले किन समयमै घोषणापत्र तयार पार्न सकेनन् ?

स्थानीय तहको निर्वाचन सकिएलत्तगै दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयारी थालेका थिए । यो बीचमा घोषणापत्र बनाउन पर्याप्त समय थियो । तर मौलिक विकासको खाकासहितको उपयुक्त घोषणापत्र बनाएर निर्वाचनमा जाने जाँगर दलहरुलाई कहाँ रु बरु गठबन्धन वा तालमेलकै लागि दलहरुले लामो समय खर्च गरेका छन्, घोषणापत्र पहिलो प्राथमिकतामा पर्न सकेन ।

त्यसो त कलात्मक सपना बुनेर दलहरुले हरेक निर्वाचनमा घोषणापत्र बनाइरहेकै छन् । निर्वाचनको नतिजा दलहरुको घोषणापत्रले भन्दा बढी हल्लाले प्रभावित हुने गरेको छ । कतिपय जन्मजात कुनै दलको मतदाता र कतिपय आफ्नो भोट केही नोट र केही व्यञ्जन परिकारसँग साट्नेहरु पनि छन् ।

त्यसैले घोषणापत्र दलहरुको प्राथमिकतामा पछाडि परेको हुनसक्छ । खैर, घोषणापत्र निर्वाचनमा दलहरुले गर्ने कबोलनामा पनि हो । यही कबोलनामाको उपयुक्त ड्राफ्ट नदेख्दै मतदाताले दल र उम्मेदवारलाई कसरी चिन्ने, कसरी विश्वास गर्ने ?