२३ बैशाख २०८१, आईतवार

धमाधम निष्कासन र कारबाही गर्दै बागी उठेका उम्मेदवारलाई दल

localElectionAllParties

कैलाली लगायत देशभरीनै पार्टीभित्र विद्रोह गरी बागी उठेका नेतालाई पार्टीबाट धमाधम निष्कासन गरिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टीबाट बागी उठेका उम्मेदवारलाई निष्कासन गरेको हो ।

नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरनेगरी निष्कासन गरिएको एमालेले जनाएको छ ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धित कमिटीले पार्टीबाट निष्कासन गरेको जानकारी दिए ।

उनका अनुसार प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा(२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएकी भगवती ओझामाथि कारबाही गरिएको छ । नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले निर्वाचन क्षेत्र नं. ४ (ख) बाट उम्मेदवारी दिएकी भागवती पाठकलाई पनि कारबाही गरिएको बताए । उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले बागी उम्मेदवारहरूलाई स्वतः कारबाही गरिएको बताए । यद्यपि ओझाले यसअघि नै कांग्रेसबाट राजीनामा दिएको घोषणा गरिसकेकी छिन् ।

कांग्रेसले कैलालीमा पाठक सहित बागी उम्मेदवारी दिने ७ जनालाई पनि कारबाही गरेको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र साउदविरुद्ध उम्मेदवारी दर्ता गराएका भरत शाही, निर्वाचन क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध उम्मेदवारी दिएका नवीन बोहरा, निर्वाचन क्षेत्र नं. ३ (ख) बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अमर साउदका विरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका गोविन्दराज जोशी र लक्ष्मण शाहीलाई पनि कारबाही गरिएको जनाइएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं. ४ (क) बाट गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारी दिएका प्रेम शाह, निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट उम्मेदवारी दिएका गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाश देउवाका विरुद्ध उम्मेदवारी दिएका कांग्रेसका विद्यार्थी नेता रहेका भण्डारीमाथि कारबाही गरिएको सभापति भट्टले बताए ।

नेकपा माओवादी केन्द्रले कैलाली क्षेत्र नम्बर ४ र ५ बाट बागी उम्मेदवार दिएका उम्मेदवारलाई कारबाही गरेको छ ।

माओवादी केन्द्रले क्षेत्र नम्बर ४ प्रदेश सभा (१) बाट प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका भोजराज सापकोटा र कैलाली संघीय निर्वाचन क्षेत्र ५ प्रदेश सभा (१) बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरेको हो ।

कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी छन् भने कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेशसिंह धामी छन् ।