२४ बैशाख २०८१, सोमबार

झापा क्षेत्र नं. ५ को चुनावी प्रतिस्पर्धा कस्तो ?

jhapa 5

नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट प्रतिस्पर्धा गर्दैछन् ।

ओलीलाई सत्ता गठबन्धनका उम्मेदवार अर्थात् २०७४ सालकै प्रतिस्पर्धी खगेन्द्र अधिकारीसहितका २४ जनाले चुनौती दिँदै छन् । ओली राप्रपासँगको तालमेल र अधिकारी गठबन्धनको बलमा चुनावी मैदानमा उत्रिँदा अरु दल तथा स्वतन्त्र उम्मेदवार आफ्नै खुट्टामा उभिएर जनमत परीक्षणमा लागेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सातौं पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनबाहेक सबैमा उनी विजयी हुँदै आएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धनविरुद्ध एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो । अहिले राप्रपासँगको तालमेलले एमाले झन् ढुक्क देखिएको छ ।

त्यसो त नेपाली कांग्रेस पनि यस-पटक गठबन्धनको वलमा चुनाव जित्ने हिसाब गरेर बसेको छ । गत निर्वाचनमा वाम गठबन्धन र राप्रपासाग तालमेल गरेर एमाले अध्यक्ष ओलीले ५७ हजारको हाराहारीमा मत पाएका थिए ।

कांग्रेसका खगेन्द्र अधिकारी एक्लैले २८ हजारभन्दा बढी ल्याएका थिए । अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनमा भएकाले सहज हुने कांग्रेसको दाबी छ ।

झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभातर्फ २५ जनाको उम्मेदवारी छ । दुई महिलासहित १२ जना स्वतन्त्र छन् । ५ वटा निर्वाचन क्षेत्र रहेको झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता छन् । क्षेत्र नं. ५ मा भने १ लाख ५४ हजार दुई सय ८९ जना मतदाता छन् ।