२ जेष्ठ २०८१, बुधबार

कारबाही भोग्न तयार भए पोखरेल: खोटाङमा गठबन्धनलाई बागीको तगारो

Khotang Manonayan

खोटाङमा कांग्रेस नेता धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी गठबन्धनको अगाडि चुनौती बनेको छ । सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पोखरेलले प्रदेश (ख) मा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । 

असन्तुष्ट कांग्रेसकै योजना अनुसार मनोनयन दर्ता गरेका पोखरेल कांग्रेस केन्द्रीय समितिको कारबाही भोग्न तयार भए तर उम्मेदवारी फिर्ता लिन तयार भएनन् । उनी चुनाव चिन्ह पानीको धारा लिएर चुनावी कार्यक्रममा निस्कने तरखरमा छन् । 

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाइ नभएको भन्दै कांग्रेसका पोखरेल सहित पूर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा र पूर्वसभापति सुवासकुमार पोखरेलले प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेका थिए । अन्तिममा सर्वधन र सुवासकुमार ‘ब्याक’ हुँदा धर्मराज भने निरन्तर अघि बढेका हुन् । 

गठबन्धन अन्तरगत प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा कांग्रेसका भूपेन्द्र राई उठेका छन् । 

जिल्लामा संगठन बचाउनका लागि स्वतन्त्र उम्मेदवारी दिइएको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए । ‘केन्द्रले जिल्लाको गठबन्धनलाई फितलो बनाउने काम गर्‍यो । रामप्रसाद राईले कुनैबेला विद्रोह गर्न खोजे, भुदेव राईले गर्न खोजे भने हामी पछिल्लो पुस्ता किन चुप बस्छौँ । केन्द्रले डाइलग गर्नुपर्‍यो, सम्झाउनु पर्‍यो । अहिलेसम्म केन्द्रले यस बारेमा चासो राखेको छैन,’ सभापति राईले भने, ‘जिल्लाको संगठन बचाउने काम हाम्रो हो । नेतृत्वको भरथेग भएन । त्यसकारण बाध्य भएर आधिकारिक उम्मेदवार उठाएका हौँ । स्वतन्त्र उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका छौं ।’ 

पोखरेलको स्वतन्त्र उम्मेदवारी फिर्ता नभएपछि नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजीलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । पोखरेलका कारण गठबन्धनका उम्मेदवार असन्तुष्ट छन् भने एमाले उत्साहित छन् । 

स्वतन्त्रलाई सहयोग नगरे माओवादीलाई असहयोग  

प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडलाई लिएर खोटाङ कांग्रेसभित्र ध्रुवीकरण भएको छ । अहिले प्रत्यक्ष र समानुपातिकमा टिकट पाउने कांग्रेसका उम्मेदवार र उनीहरू निकट नेता तथा कार्यकर्ता गठबन्धनको पक्षमा देखिन्छन् । अन्य भने स्वतन्त्र उम्मेदवारको पक्षमा देखिन्छन् ।

आफ्नो स्वतन्त्र उम्मेदवार पोखरेललाई सघाए मात्र प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रलाई सहयोग गर्ने निर्णय गरिएको सभापति राईले बताए । 

गठबन्धनको चुनावी कार्यक्रम तय गर्नका लागि बिहीबार आयोजित बैठकमा कांग्रेसले प्रतिनिधि नपठाएको जनाएको छ । ‘जबसम्म प्रदेशसभा (क)को स्वतन्त्र उम्मेदवारलाई सहयोग हुन्न तबसम्म माओवादी केन्द्रलाई पनि सहयोग हुन्न,’ राईले भने, ‘कारबाही प्राविधिक पाटो हो ।

स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरे भनेर उम्मेदवारले दिएको उजुरी र त्यही अनुसार जिल्लाले फरवार्ड गरेको मान्छेले नै अहिले टिकट लिएर आयो त । कांग्रेसको कारबाहीको नमुना त यही हो ।’ 

जनमत कम भएको नेकपा (एस)लाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन पनि रोक्न नसकिने असन्तुष्ट कांग्रेसको दाबी छ ।

निर्णय सच्याउनका लागि गत शनिबार कांग्रेस केन्द्रीय समितिलाई ज्ञापन–पत्र बुझाएको टोलीले आइतबार जिल्लामा फर्किए लगत्तै बैठक राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थियो ।

केन्द्रले गरेको गठबन्धनप्रति इमानदार हुनुपर्ने नेकपा (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलसेर राईले बताए । केन्द्रबाट पावर लगाएर भए पनि कांग्रेसको स्वतन्त्र उम्मेदवार ‘ब्याक’ गर्ने विषयमा छलफल सुरु भएको श्रोत बताउँछ ।