१ जेष्ठ २०८१, मंगलवार

बारम्बार सत्तामा पुगेका मुख्य दलहरूमा अन्तरिक लोकतन्त्र कमजोर हुँदाको असर टिकट वितरणमा

localElectionAllParties

बारम्बार सत्तामा पुगेका मुख्य दलहरूमा आन्तरिक लोकतन्त्र समेत कमजोर छ । पार्टीभित्र तहगत सुझाव र नेतृत्वमा सामुहिक छलफल हुने परिपाटी हराउँदै जाँदा उम्मेदवार चयनमा व्यक्ति हावी भैरहेको देखिन्छ । फरक विचार राख्नेलाई पाखा लगाउने र राम्रालाई भन्दा हाम्रालाई काखी चाप्ने प्रवृत्ति यो चुनावमा समेत दोहोरियो ।

एमालेका तल्ला कमिटीले सर्वसम्मत सिफारिस गरेका पूर्वउपाध्यक्ष भीम रावल र पूर्वमहासचिव घनश्याम भुसाललाई प्रतिनिधि सभामा टिकट दिएनन् । यी दुई नवौं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर पदाधिकारी जित्ने र ओलीको कार्यशैलीको कट्टर आलोचक थिए ।

त्यसो त पार्टी कमिटीमा छलफल गरेर उम्मेदवार तय गर्ने पद्दती त्यागेर अध्यक्ष ओलीले नै टिकट वितरणको सर्वाधिकार आफैमा राखे । अनि पार्टीमा योगदान गरेका अनुहारलाई भन्दा नवप्रवेशी र आफ्नो गुणगान गाउनेलाई रोजी-खोजी टिकट दिए ।

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसको अवस्था पनि उस्तै रह्यो । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले टिकट वितरणमा ५० प्रतिशतभन्दा धेरै सिटमा आफैले पकडमा राखे । उनले फौजदारी आरोप लागेका व्यक्तिलाई टिकट दिँदा पार्टीमा न छलफल भयो नत दोश्रो पङ्तिले विरोध नै गर्यो।

बरु अब्बल र योग्य मानिएका कतिपयले टिकट नै पाएनन् । माओवादी केन्द्र र एकीकृत समाजवादीमा समेत टिकट दिँदा पार्टीमा छलफल भएन । नेतृत्वको आफूखुसी चल्यो ।

दलहरुमा आन्तरिक लोकतन्त्र नहुँदा आसेपासे पोस्ने प्रवृत्ति हावी भएको हो ।

आन्तरिक लोकतन्त्र कमजोर हुँदा दलहरुमा मापदण्ड, विधि र पद्दति मात्रै बिग्रेको छैन, नेतृत्वले पार्टीको चुनावी संरचना नै फेरवदल गरे । जसपाले सत्ता गठबन्धन छाडेर एमालेको कित्तामा पुग्नुलाई अध्यक्ष उपेन्द्र यादवका छोरालाई टिकट नदिनुसँग जोडेर हेरिएको छ । दलहरुको यस्तो प्रवृतिले टिके प्रथालाई मलजल गरेको छ । र, लोकतन्त्रको खिल्ली उडाएको छ ।

निर्वाचनमा उम्मेदवार बन्नु वा चुनाव जित्नु मात्रै लोकतन्त्र हैन । यो त जनमतको सम्मान र राजनीतिक आचरणसँग पनि जोडिन्छ । किनभने संविधानले संघीय संसदमा ३३ प्रतिशत सुनिश्चित गर्दा दलहरूले प्रत्यक्षतर्फ जम्मा ९ प्रतिशत महिलालाई उम्मेदवार बनाए ।

यसले के देखाउँछ भने दलहरुमा समावेशी र समानुपातिक प्रतिनिधित्वको खास मर्मलाई आत्मसात गर्ने परिपाटी समेत छैन । घोषणापत्र र भाषणमा लोकतन्त्रको कुरा गरेर नथाक्ने दल र नेतृत्वको यस्तो व्यवहारमा पार्टीका अरु तह समेत चुपचाप रहनु दुर्भाग्यपूर्ण हो ।