१७ बैशाख २०८१, सोमबार

पटक पटक सर्दै असोजसम्म धकेलिएको नवौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

rangashala pokhara

आगामी शुक्रबार उद्घाटन हुने नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले व्यवस्थपकिय र खेल स्थलको तयारी तीब्र बनाएको छ । पटक पटक सर्दै असोजसम्म धकेलिएको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

घरेलु खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुदको नवौं संस्करण आउँदो शुक्रबार पोखरा रंगशालामा औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिताका केहि खेलहरु सम्पन्न र केहि खेल जारी रहे पनि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले औपचारिक उद्घाटन भने शुक्रबारमा गर्नेछ । यसका लागि राखेपले मुख्य खेल स्थल पोखरा रंगशालासहित प्रदेशका अन्य खेल स्थल तयार गरेको छ ।

प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन र समापन सहित अधिकांश खेलहरु कास्कीमा हुनेछन् भने बाग्लुङ, तनहुँ, स्याङ्जा, गोर्खा, पर्वत, गोरखा, म्याग्दी र नवलपुर जिल्लामा केहि खेल खेलाईनेछ ।

पुरुष क्रिकेट काठमाडौंमा सम्पन्न भईसकेको छ भने पूर्वाधारको अभावका कारण सुटिङका खेलहरु पनि काठमाडौंमै हुनेछ । नेपालमा खेल संचालनका लागि पूर्वाधार अभाव सधैंको समस्या हो।

पोखरा क्रिकेट मैदानमा महिला क्रिकेटका खेल म्याटमै खेलाइएको भन्दै राखेपको चर्को आलोचना भइरहेको छ । पूर्वाधारकै अभावमा अधिकांश खेल खुल्ला स्थानमा हुने भएकाले वर्षाले तयारीमा झन समस्या थपिदिएको छ ।

शुक्रबार औपचारिक उद्घाटन हुने भए पनि क्रिकेटसहित ह्यान्डबल, फेन्सिङ, गल्फ, चेस, हक्की, भलिबल, फूलकन्ट्याक्ट कराते, फुटबल भने अगाडिनै सुरु भईसकेका छन् । केहि हुने क्रममा छन् । ७ प्रदेश, ३ विभाग र गैरआवासिय नेपालीको टोली एनआरएनए सहित ११ टोली सहभागी हुने प्रतियोगितामा कुल ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्य पदका लागि प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित समाचार...