२८ बैशाख २०८१, शुक्रबार

धेरै जसो नेता नजिकका र आफन्त समानुपातिकको बन्दसूचीमा

all party
फाइल फोटो

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीमा शीर्ष नेतानिकट, नातेदार, पार्टीमा महत्वपूर्ण जिम्मेवारी रहेका, पूर्वमन्त्री, पूर्वसांसदसम्मका व्यक्ति समेटिएका छन् । प्रतिनिधिसभातर्फ ४७ दलका २ हजार ४ सय ३ जनाको सूची सार्वजनिक गरिँदा धेरै जसो नेता नजिकका र आफन्त देखिन्छन् ।

नेपाली कांग्रेसले खसआर्य-पुरुषतर्फ पहिलो नम्वरमा सभापति शेरबहादुर देउवाका प्रियपात्र एव‌ं प्रवक्ता प्रकाशशरण महतलाई राखेको छ । त्यस्तै पटक-पटक अवसर प्राप्त गरेका आनन्दप्रसाद ढुङगाना तेस्रो नम्बरमा परेका छन् ।

प्रधानमन्त्रीपत्नी आरजु राणा महिलातर्फ तेस्रो र गृहमन्त्री बालकृष्ण खाणपत्नी छैटौं नम्बरमा छन् । आदिवासी पुरुषतर्फको पहिलो नम्बरमा देउवाका सदाबहार सहयोगी गोपालमान श्रेष्ठ र मधेशीतर्फ पहिलो नम्वरमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलाई राखिएको छ । देउवाका विश्वासपात्र सहमहामन्त्री फरमुल्लाह मन्सुर मुस्लिमतर्फ र जीवन परियार दलिततर्फ पहिलो नम्वरमा छन् ।

एमालेको खस आर्य-पुरुषतर्फको पहिलो नम्बरमा रघुजी पन्त र दोस्रो नम्बरमा परिवार दलका अध्यक्ष एकनाथ ढकाल परेका छन् । उपाध्यक्ष रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा मगर आदिवासी जनजाती महिलातर्फको पहिलो नम्वरमा छन् ।

११० जनाको सूचीमा एमालेले भने नयाालाई अवसर दिएको छ । माओवादी केन्द्रले पनि नयाा अनुहारलाई समेटेको छ । एकीकृत समाजवादी पार्टीले उपमहासचिव गंगालाल तुलाधरलाई आदिवासी पुरुषतर्फको पहिलो नम्वरमा राखेको छ ।

अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई राज्य निर्माणको मूलधारमा ल्याउने माध्यमका रूपमा हेरिने समानुपातिक प्रतिनिधित्वको अवधारणा २०६४ को संविधानसभा चुनावबाट शुरु गरिएको थियो ।

तर पछिल्लो समय दलका शीर्ष नेताका आसेपासे, चन्दादाता व्यापारी, परिवारका सदस्य तथा नातागोतालाई संसदमा पुर्‍याउने माध्यमका रुपमा दुरुपयोग भएका छन् ।