१३ बैशाख २०८१, बिहीबार

डर्टमुन्डलाई हराउँदै बायर्नले अग्रता बढायो

bayern vs dortmund

जर्मन बुन्डेसलिगाको उपाधि होडमा रहेका शीर्ष दुई क्लबबीचको खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । बायर्नले जोसुआ किमिचको पहिलो हाफको गोलको मदतले १-० को जित दर्ता गरेको हो । यस जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ ।

खेलको सुरुवात समयमा नै डर्टमुन्डले अग्रता लिने अवसर पाएको थियो । गोलरक्षक म्यानुएल नोएर केहि अगाडी आएको अवस्थामा एर्लीङ हालान्डले गरेको फितलो प्रहारलाई डिफेन्डर जेरोम बोटेङले गोललाइनबाट सहजै बचाए । लगत्तै थोर्गन हाजार्डको पासमा हालान्डको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको १९ औं मिनेटमा बायर्नले अग्रता लिनबाट बन्चित भयो । सर्ज जिनाब्रीले किंग्सले कोमानको पासमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई डर्टमुन्डका कप्तान लुकास पिस्जेकले गोललाइनबाट क्लियर गरिदिए । २४ औं मिनेटमा कोमानको शक्तिशाली प्रहारलाई गोलरक्षक रोमन बुर्कीले बचाएपनि रिबाउन्डमा मुलरले प्रहार गर्न सकेनन् ।

खेलको ३४ औं मिनेटमा हालान्डले उत्कृष्ट बल नियन्त्रण देखाउँदै पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको अवस्थामा रहेपनि तीव्र गतिमा पछाडीबाट आएका अल्फोन्सो डेभिसले उत्कृष्ट ट्याकल गर्दा खेल गोलरहित बराबरीमा सिमित भयो । ४० औं मिनेटमा लिओन गोरेट्जकाले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुर्कीले विफल पारिदिए ।

खेलको ४३ औं मिनेटमा अन्ततस् बायर्नले खेलमा अग्रता लियो । किमिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोलरक्षक पोजिसनमा नरहेको अवस्था हेर्दै चिप गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक बुर्कीले बल बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै बल गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा डर्टमुन्डले जेडन सान्चोलाई मैदान प्रवेश गराएपनि बायर्नविरुद्ध बराबरी गोल फर्काउन भने सकेन । खेलको ८१ औं मिनेटमामोहमद दाहुदले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक नोएरले विफल पारे । लगत्तै अर्कतर्फ रोबर्ट लेवान्डोस्कको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

यस जितसँगै बायर्नले शीर्षस्थानमा आफ्नो अग्रता बढाएको छ । बायर्नको २८ खेलमा ६४ अंक छ भने दोस्रो स्थानको डर्टमुन्डले २८ खेलमा ५७ अंक जोडेको छ । तेस्रो स्थानको आरबी लाइप्जिगले २७ खेलमा ५४ अंक बनाएको छ । लाइप्जिगले बुधबार हर्था बर्लिनसँग खेल्नेछ । एजेन्सी