१६ बैशाख २०८१, आईतवार

मनसुन बाहिरिन कम्तिमा एक हप्ता लाग्ने

mausam weather

नेपालबाट मनसुन बाहिरिन अझैं एक हप्ता लाग्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन देशका विभिन्न ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय हुने भएकाले मनसुन बाहिरिन कम्तिमा एक हप्ता लाग्ने देखिएको हो । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत मङ्गलबारदेखि देशभर सक्रिय भएको प्रणाली अहिले कर्णाली र सुदूरपश्चिममा रहेको बताउनुभयो ।

यो प्रणाली भोलिदेखि त्यहाँबाट पनि बाहिरिने भएपनि अझै केही दिन देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भने भइरहने पूर्वानुमान गरिएको उहाँले बताउनुभयो । सामान्यतया जुन १३ तारिखमा नेपाल प्रवेश गर्ने मनसुन अक्टोबर २ मा बाहिरिनुपर्छ । तर, यो वर्ष जुन ५ मै नेपाल भित्रिएको मनसुन अझै बाहिरिएको छैन ।

आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच आज सुदूरपश्चिम प्रदेशका केही साना नदीमा एक्कासी बाढी आउँने तथा होचा भूभागमा डुबान र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले डडेलधुरा, कञ्चनपुर, कैलालीको धेरै स्थानमा अबको ६ घण्टासम्म भारी वर्षा हुन सक्ने भन्दै कान्द्रा, मोहना, खुटीया, सुहेली, चौधर, रङ्घुन, पन्टुरालगायतका ठाउँमा बाढी आउँने सक्ने तथा भिरालो जमिनमा पहिरो र होचा स्थानमा डुबान हुन सक्ने भएकाले दिउँसो ३ बजेसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार...