७ बैशाख २०८१, शुक्रबार

सिद्धान्तबाट विमुख हुँदै बदलिएको रवीन्द्र मिश्रको बाटो !

rabindra mishra

सुसंस्कृत र वैकल्पिक राजनीतिक शक्ति बनाउन भन्दै खोलिएको साझा पार्टीको सिद्धान्तबाट विमुख हुँदै रवीन्द्र मिश्र राप्रपामा पुग्नु भएको छ । उहाँको राप्रपा छनोट सैद्धान्तिक रुपमा सही देखिए पनि वैकल्पिक र नयाँ प्रयोग गर्न भन्दै शुरु गरेको राजनीतिक बाटो भने बदलिएको छ ।

कुनै समय सहभागितामूलक लोकतन्त्र, सामाजिक न्याय र कल्याणकारी राज्यजस्ता सिद्धान्त बोकेर साझा पार्टी गठन गर्नुभएका पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्र बुधबार शंख–घण्ट बजाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभयो ।

दोस्रो जनआन्दोलनका मूल उपलब्धिविरुद्ध नै अभियान चलाइरहेको राप्रपामा विवेकशील साझा पार्टीका केही सदस्य मिसाउनु भएका मिश्रले अब अझै सशक्तरुपमा हिन्दूराष्ट्र पुनःस्थापना, संघीयता खारेजी र राजतन्त्रको वकालत गर्नुहुनेछ । गत वर्ष नै ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ भनेर म्याउ गर्नुभएका मिश्रको स्वर अहिले बढेको मात्रै हो ।

‘नेपाल खुलै छ’ भन्ने अभियानबाट उज्जवल थापाको नेतृत्वमा सुरु गरेको अभियान पार्टी बन्दा धेरैले वैकल्पिक शक्ति बन्छ कि भन्ने ठानेका थिए । तर, जब साझा र विवेकशील मिले, त्यहीँबाट बैकल्पिक शक्तिको अद्योगति सुरु भयो । र, यसको मूल कारण थियो– मिश्रको महत्वकांक्षा र व्यवस्था विरोधी विचार ।

राजनीतिक रुपमा चरम महत्वकांक्षी मिश्रको नेतृत्व ल्याकत साझा पार्टी गठनपछि विवेकशीलसँग एकता, फेरि फुट, फेरि एकता अनि विभाजनले प्रष्ट पारिसकेको छ । २०७४ को संसदीय र २०७९ को स्थानीय तह निर्वाचनले पनि मिश्रको कमजोर नेतृत्व नै स्थापित ग¥यो । स्थानीय निर्वाचनपछि ‘नैतिक’ देखिन पार्टी नेतृत्व त्यागे पनि त्यसको भित्रि उद्देश्य राप्रपासँग नजिकिनु थियो भन्ने प्रष्ट भएको छ । त्यसैले मिश्रले राप्रपालाई अग्रगामी शक्ति नै देख्नु भएको छ ।

एजेन्डा मात्र होइन मागेको पद पनि मिलेपछि मिश्रसँग राप्रपासँग जोडिनुको विकल्प थिएन । कांग्रेस–एमालेको विकल्प बन्न सक्ने गरी देशमा एउटा नरम संवद्र्धनवादी शक्ति निर्माण गर्ने मिश्रको उद्देश्यलाई राप्रपाको मञ्चले कति भरथेग गर्ला त्यो चाहिँ भविष्यले नै बताउँला ।

दक्षिणपन्थी शक्तिलाई एकीकृत गर्ने भरोसायोग्य नेतृत्वको अभाव राजेन्द्र लिङ्देन र मिश्रको जोडीले केही पूरा त गर्ला । तर, जनमत बढाउँदै हिन्दू राष्ट्र र राजतन्त्र नै फर्काउला भने आधार चाहिँ पटक्कै छैन ।

मिश्रको राजनीतिक महत्वकांक्षाको भेल पूर्ववत् रफ्तारमा बढिरह्यो भने राप्रपा पनि दुर्घटनामा पर्नसक्छ । जसरी साझा, विकेकशील र साझा विवेकशील प¥यो । त्यसैले, चुनिएर आएको नेतृत्वलाई साथ दिँदै आफ्नो पनि पालो आउँछ भन्ने धैर्य मिश्रले राख्न सक्नुपर्छ । सम्भवतस् यो भरोषाले नै राप्रपाले आफूहरु उदाउँदो शक्ति भएको दाबी गर्ने हिम्मत राखेको छ ।

कम राजनीतिक योगदान भए पनि एक्कासी आफूभन्दा माथिल्लो बरियतामा आएका मिश्रलाई राप्रपाका मुख्य नेताले कसरी लिन्छन् त्यसले पनि मिश्रको भविष्य निर्धारण गर्छ । राप्रपाका पूराना नेता–कार्यकर्ताले मिश्रलाई आजको जस्तै सधैं आत्मीय स्वागत र सहयोग नगर्न सक्छन् ।

मिश्रको विलय यतिबेला एजेण्डाका रुपमा मात्र भएको हो । तर, कतिपय समयमा एजेण्डा नै बिलाउँदै बिलाउँदै जाँदा विचारको समेत पतन हुन्छ । विचारको पतनले व्यक्तिकै पतनको बाटो तय गर्दछ ।

यतिबेला हिजोका जुझारु र लोककल्याणकारी राज्यको स्थापनाको गफ दिइरहने मिश्र के पतनको बाटोतर्फ अघि बढेका हुन् त भन्ने प्रश्न जबरजस्तरुपमा उठेको छ । तर, लोकतान्त्रिक प्रणालीमा दल होइन बैधानिक विधिबाट व्यवस्था नै बदल्ने अभियानमा पनि लाग्ने छुट सबैलाई हुन्छ । मिश्रलाई पनि थियो । र, बदलिए । तर, बदलिनुको औचित्य पुष्टि गर्न चाहिँ सजिलो छैन ।