१५ बैशाख २०८१, शनिबार

बन्द होटललाई क्वारेन्टाइन बनाइने, क्वारेन्टाइन बनाउन दिन व्यवसायी सहमत

2020 05 25 image 96

प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द रहेका होटललाई सरकारले क्वारेन्टाइन बनाउने योजना सरकारले अघि बढाएको बताएका छन्।

प्रधानमन्त्री ओलीले बन्द अवस्थामा रहेका होटल र उपयुक्त सार्वजनिक संरचनाहरुलाई समेतलाई क्वारेन्टिनको रुपमा विकास गर्न लागिएको सम्बोधनमा जानकारी गराए।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधनका क्रममा उनले लकडाउनका कारण हाल बन्द होटललाई क्‍वारेन्टाइन बनाइने बताका हुन् ।

विदेशबाट नेपाल फर्कन इच्छुकलाई स्वदेश ल्याउन विस्तृत कार्ययोजना ल्याउन सरकारले लागेको उनले जानकारी गराए। विदेशबाट ल्याउनेहरूको व्यवस्थापन गर्न सरकारले होटललाई क्वारेन्टाइन बनाउन लागेको हो। क्वारेन्टिनको संख्या बढाउने र व्यापक सुधार गर्ने उनले जानकारी गराए। क्वारेन्टिनमा राखिएका व्यक्तिहरूको खानपान तथा हेरचाह व्यवस्थित गरिने बताए।

उनले क्‍वारेन्टाइनको सँख्यासँगै गुणस्तर पनि बढाउने बताए । त्यस्तै, संक्रमितको स्वास्थ्योपचार र क्‍वारेन्टाइनमा रहेकालाई उचित खानपानको व्यवस्था गर्ने पनि उनले बताए । कोरोनाविरुद्धको युद्ध कुनै पनि बहानामा कमजोर हुन नदिने भन्दै उनले नागरिकको ज्यान जोगाउन सरकार हदैसम्म प्रयत्‍नशील रहेको पनि बताए ।

समस्याको प्राथमिकता र तयारीलाई सन्तुलन मिलाउँदै विदेशबाट फर्काउने जानकारी गराए। ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरूलाई सरकारले समयमै उद्धार गर्छ।’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ।’

कोभिड–१९ सँग जुध्न सक्नेगरी संघ, प्रदेश र स्थानीयतहको सहकार्यलाई थप प्रभावकारी बनाइने बताए। क्वारेन्टिन, राहत वितरण, आपूर्ति प्रणालीको व्यवस्थापन र अनुगमनमा स्थानीय तहलाई सक्षम पार्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए।

होटललाई क्वारेन्टाइन बनाउन दिन व्यवसायी सहमत

होटललाई क्वारेन्टाइन बनाउन दिन व्यवसायी सहमत भएका छन्। होटल संघकी अध्यक्ष सिर्जना राणाको नेतृत्वको प्रतिनिधि मण्डलले पर्यटन विभागसँग गरेको छलफलपछि विदेशबाट फर्किएका नेपालीलाई होटलमा राख्न दिने सहमति भएको हो।

‘सरकारले होटलहरुलाई क्वारेन्टाइनको रूपमा उपयोग गर्ने निर्णय गरेमा संघसँग आबद्ध सदस्य होटलहरुले राज्यसँगको समन्वयमा पहल गर्ने भएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। संघले क्वारेन्टाइनका रूपमा प्रयोग बारेमा विस्तृत विवरण पर्यटन विभागलाई समेत बुझाएको छ।

स्वाथ्यकर्मी तथा अग्रपङ्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएका व्यक्तिहरुलाई समेत आवश्यकता अनुसार गर्न सकिने संघले जनाएको छ। क्वारेन्टाइनका रूपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेक-इन अघि नै उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकिन हुने प्रमाण हुनुपर्ने र प्रत्येक दिन स्वास्थ्य जाँच हुनुपर्ने सर्त संघले राखेको छ।

संघले कामदार कर्मचारी तथा छिमेकका स्थानीय समुदाय समेत कोरोना संक्रमणबाट पूर्ण रूपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहवरमा होटल संचालन हुनुपर्ने सर्त राखेको छ। संघले क्वारेन्टाइनमा आवश्यक पर्ने खानादेखि कर्मचारीको तलबसम्म सरकारले दिनुपर्ने जनाएको छ।

‘क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवर्द्धक आहार, आधारभूत सेवा सुविधा, सञ्चार, पानी, बिजुली लगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु सरकारले दिनुपर्छ,’ संघले भनेको छ, ‘पर्यटकस्तरदेखि पाँच तारे होटलहरुमा लाग्ने अनुमानित खर्चहरुको शीर्षक अनुसार न्यूनतम आधारको रूपमा दिनुपर्छ।’

क्वारेन्टाइनका रूपमा होटल संचालनको निर्णय संचालकको स्वेच्छामा भर पर्ने संघले जनाएको छ। होटललाई क्वारेन्टाइनका रूपमा उपयोग गरी संचालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि संघका प्रतिनिधि रहने गरी सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने संघले जनाएको छ।