१५ बैशाख २०८१, शनिबार

बढ्दो सार्वजनिक विरोधबीच क्रेमलिनले युक्रेनमा लड्न रुसीहरुलाई परिचालन गर्ने अभियान गल्ती भएको संकेत

Vladimir Putin

बढ्दो सार्वजनिक विरोधबीच क्रेमलिनले युक्रेनमा लड्न रुसीहरुलाई परिचालन गर्ने अभियान गल्ती भएको संकेत गरेको गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले गल्ति भएको संकेत गर्र्र्दै त्यसलाई सच्च्याइने बताए । उनले  भने, “सबै त्रुटिहरू सच्याइनेछ“। पुटिनले गत साता युक्रेनमा लड्न ३ लाख रुसीलाई परिचालन गर्ने आदेश दिएका थिए । 

तर, धेरै सैन्य अनुभव नभएका र असक्षम व्यक्तिलाई पनि परिचालनको तयारी गरिएको विभिन्न रिपोर्टमा जनाइएको थियो । परिचालनको विरोधमा रुसभर विरोध भएको छ । हजारौँ प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ ।

पुटिनले रिजर्भिस्टलाई परिचालन गर्न दिएको आदेशले रुसी सेनाहरू युक्रेनको युद्धभूमिमा नराम्ररी असफल भइरहेको देखाएको पश्चिम र युक्रेनका धेरै सैन्य विशेषज्ञहरुले दाबी गरेका छन् । मस्कोले युक्रेनमाथि हमला सुरु गरेको  सात महिना भन्दाबढी समय भएको छ । 

यसैबीच, रुसमा सामेल हुन स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ । 

दक्षिणी खेरसनमा रुसी सुरक्षाकर्मीहरू जनताको मत संकलन गर्न शहरको बीचमा मतपेटिका लिएर उभिएका बताइएको छ । घर–घरमा मतदान ‘सुरक्षा’ का लागि भएको रुसी सञ्चार माध्यमहरुले प्रचार गरेका छन् ।