१२ बैशाख २०८१, बुधबार

कति सहज राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन ?

Bidhya Devi Bhandari

राष्ट्रपति देशको प्रमुख संवैधानिक पद हो । यो पदमा रहन राजनीतिक दल त्याग गर्नुपर्छ । कार्यकाल सकिएपछि पुनः सक्रिय राजनीतिमा आउने कल्पना नै गरिएको छैन ।

त्यसैले देशकै पहिलो राष्ट्रपति बन्नुभएका रामवरण यादव पदबाट हटेपछि संक्रिय राजनीतिमा आउनु भएन् । तर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकाल सकिएपछि दलीय राजनीतिमा आउन सक्ने अडकलबाजी भैरहेका छन् ।

एमाले नेता गोकुल बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा आउन आग्रह गरेको सार्वजनिक अभिव्यक्ति दिनुभयो । बाँस्कोटाको यो भनाइ व्यक्तिगत भएपनि भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलेको निकै भइसकेको छ । भण्डारीको कार्यकाल सकिनै लाग्दा दलको सक्रिय राजनीतिमा फर्किन सक्ने अड्कलबाजी गर्न थालिएको छ ।

बाँस्कोटा मात्रै नभएर राष्ट्रपति भण्डारी पदबाट हटेपछि दलीय राजनीतिमा फर्किने संभावना रहेको खासखुस गर्दै आएका छन् । अझ कतिपयले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै आफूपछि पार्टीको उत्तराधिकारी नै भण्डारीलाई बनाउन चाहेको दाबी गर्ने गर्छन् । राष्ट्रपति भण्डारीको उमेर नै ५८ वर्ष हाराहारी रहेकाले उहाँ पुनः सक्रिय हुनुपर्ने एमालेभित्र झिनो आवाज छ ।

२०६५ सालमा बुटबलमा भएको एमालेको आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भण्डारी २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट पनि उपाध्यक्षमै निर्वाचित हुनुभयो ।

विक्रम संवत् २०७२ कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भण्डारीले संवैधानिक व्यवस्था र प्रचलन अनुसार पार्टी परित्याग गर्नुभयो । उहाँ २०७४ फागुन २९ मा पुनः दोस्रो पटक राष्ट्रपति बन्नुभयो । संविधानको धारा ६४ को उपधारा २ अनुसार दुईपटक राष्ट्रपति भइसकेका व्यक्तिले तेस्रो पटक उम्मेदवारी दिन नपाउने व्यवस्था छ ।

त्यसो हुँदा अब तेस्रो पटक भण्डारी राष्ट्रपति बन्न सक्नुहुन्न । त्यसो भए उहाँ सेवासुविधा लिएर आराम गर्नुहोला त रु भन्ने प्रश्न सुरु भएको छ । त्यसैले उहाँ सक्रिय राजनीतिमै फर्किन सक्ने अड्कल सुरु भएको हो । तर, एमाले उपमहासचिव विष्णु रिमाल भण्डारी सक्रिय राजनीतिमा आउने कुरा मान्न तयार हुनुहुन्न । रिमालले भण्डारीलाई बदनाम गर्न फिजाइएको हल्ला मात्र भएको टिप्पणी गर्नुभएको छ ।

नेपालको संविधान, कानुन कतै राष्ट्रपति सेवा निर्वित्त भएपछि के गर्ने के नगर्ने भन्ने उल्लेख छैन् । राष्ट्रपति पद राष्ट्राध्यक्ष वा देशको प्रमुख भएका कारण पदबाट विदा भएपछि सक्रिय राजनीतिमा फर्किने अनुमान गर्ने बिषय नै नभएकाले पनि कतै यस बिषयमा छुट्टै व्यवस्था नभएको जानकार बताउँछन् ।

राष्ट्रपति सेवाबाट हटेपछि पनि पूर्वराष्ट्र प्रमुखकै हैसियतमा हुने भएकाले दलीय राजनीतिमा फर्किने भन्ने अनुमान नै गर्न नसकिने पूर्वराष्ट्रपति रामवरण यादवका राजनीतिक सल्लाहकार राजेन्द्र दाहालको धारणा छ । यादवको कार्यकाल सकिएपछि पनि यो बहस भएको थियो ।

नेपालमा राष्ट्रपतीय पद्दती धेरै पुरानो नभएकाले कतिपय कुराहरु अझै पनि स्पष्ट हुन बाँकी छ तर नेपाल जस्तै संवैधानिक राष्ट्रपति भएका भारत लगायतका मुलुकहरुमा राष्ट्रपति फर्किएर दलीय राजनीति गरेको उदाहरण नभएको जानकार बताउँछन् । राष्ट्रपति भण्डारीका कतिपय क्रियाकलापले भने उहाँ संवैधानिक र नैतिक दायरा भित्र बस्नु हुन्छ कि हुँदैन् भन्ने प्रश्न भने नउठेका होइनन् ।

अर्को तर्फ राष्ट्रपति भण्डारी भित्रि चाहनाले भन्दा पनि तत्कालीन राजनीतिक अवस्था र आवश्यकता कारण राष्ट्रपति भएको चर्चा पनि हुने गरको छ । त्यसैले पनि उहाँलाई अझै पनि संक्रिय राजनीति गर्ने भोक बांकी नै रहेको एक थरिको मत छ । उहाँ संक्रिय राजनीतिमा आउनु होला कि नहोला ? यस्को उत्तरका लागि केही महिना वा वर्ष पर्खिनु मनासिव हुन्छ ।