२० बैशाख २०८१, बिहीबार

खाने तेलको मूल्य प्रतिलिटर ५० रुपियाँसम्म घट्यो, उपभोक्ता अझै बढी मूल्य तिर्न बाध्य

khane tel

सरकारले खाने तेलको मूल्य ५० रुपियाँसम्म घटेको बताएको छ । 

खाने तेल उत्पादकले प्रतिलिटर ५० रुपियाँसम्म घटेको बताए पनि आमउपभोक्ताले मूल्य घटेको महसुस गर्न पाएका छैनन् । 

खुद्रा बिक्रेता र उपभोक्ताहरु भने १५–२० रुपियाँसम्म मात्र घटेको बताउँछन् । नेपाल वनस्पति घिउ, तेल उत्पादक सङ्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट तथा सरकारले भन्सार महसुल घटाएका कारण खाने तेलको मूल्य घटेको जनाएको छ । 

नेपाल खुद्रा व्यापार सङ्घका नवनिर्वाचित अध्यक्ष पवित्र वज्राचार्यले भने सङ्घले मूल्य घटेको भनेको खाने तेल बजारमा आइनपुगेको बताउनुभयो ।

प्रतिलिटर १५–२० रुपियाँ घटेको जानकारी दिँदै उहाँले भन्नुभयो, “उद्योगीले घटाएका होलान्, हामी उद्योगमा बढाउनेबित्तिकै पनि बढाउँदैनौं र घटाउनेबित्तिकै पनि घटाउन सक्दैनौँ किनभने हामीले पहिलेको मूल्यमा खरिद गरेको हुन्छ ।” 

उत्पादक सङ्घका अनुसार बजारमा उद्योगले तोकेको मूल्य प्रतिलिटर तीन सय रुपियाँ थियो, अहिले २१० रुपियाँसम्म पनि झरेको छ । तर उत्पादक सङ्घको यस मूल्यलाई खुद्रा व्यापार सङ्घको मूल्यसूचीसँग भने मेल खाँदैन ।

खुद्रा व्यापार सङ्घको असोजको मूल्यसूचीअनुसार तोरीको तेल प्रतिलिटर मूल्य ३७०, भटमासको तेल २५५ तथा सूर्यमुखी तेल २९० रुपियाँ छ ।