४ जेष्ठ २०८१, शुक्रबार

भारी वर्षाको सम्भावना आज देशका केही स्थानमा, तटीय क्षेत्रका बासिन्दा सतर्क रहन आग्रह

weather aajko mausam

आज दिउँसो देशभरका थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गएरातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय भएकाले आज दिउँसो विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा निकै ठूलो पानी पर्ने तथा कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

मौसमविद् हिरा भट्राईले सुदूरपश्चिमको कञ्चनपुर र कैलाली तथा लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार ठूलो पानी पार्ने प्रणाली आज राति नै कमजोर हुने देखिन्छ । तर मनसुन बाँकी नै रहेकाले हल्कादेखि मध्यम वर्षा भने भइरहने उहाँको भनाइ छ ।

यसैबीच राति देशका विभिन्न ठाउँमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई गैडेलगायत झापा इलामको सीमा क्षेत्रमा भारी वर्षा भएको र थप हुने देखिएकाले मेची, विरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवा खोला आसपास बाढी आउन सक्ने भन्दै दिउँसो १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको छ ।

डडेलधुराको गैबन्दे, जोगबुढा र केही स्थान तथा कञ्चनपुर, कैलाली, बर्दीया, झापा, मोरङ, सुनसरी र सप्तरीका केही स्थानमा भारी वर्षा भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन पनि महाशाखाले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार...