१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिले संविधान मिचेर नयाँ प्रतिगमनको अभ्यास गरेको अध्यक्ष प्रचण्डको आरोप

parchand
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संविधान मिचेर नयाँ प्रतिगमनको अभ्यास गरेको आरोप लगाउनुभएको छ ।

पार्टी निकट किसान महासंघको कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर प्रतिगमनको अभ्यास गरेको आरोप लगाउनुभएको हो । उहाँले गत वर्षदेखि नै नयाँ–नयाँ स्वरुपमा प्रतिगमन हुँदै आएको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संविधानको पालक र संरक्षकबाट नै संविधान खुलेआम मिच्ने काम भएको उल्लेख गर्नुभयो । यसकाविरुद्ध आन्दोलनमा उत्रिन पनि उहाँले आफ्ना कार्यकर्तालाई आह्वान गर्नुभयो ।

अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनको अभ्यास गरेको बताउँदै त्यसविरुद्ध आन्दोलनमा उत्रिएको स्मरण गर्नुभयो ।

अब पनि सडकमा उत्रिनुको विकल्प नभएको उहाँको भनाइ थियो । उहाँले वाम शक्ति बनाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।