१५ चैत्र २०८०, बिहीबार

प्रभावकारी काम भएन डेंगी संक्रमण नियन्त्रणमा

dengue

डेंगी संक्रमणबाट पछिल्ला २ महिनामा २४ जनाको निधन भएको छ । संक्रमण घट्नुको सट्टा बढेको बढ्यै छ ।

साउन १६ गते यता १८ हजार १ सय ३८ जना संक्रमित थपिएका छन् । अहिले घरघरमै संक्रमित भेटिन थालेका छन् । तर पनि डेंगी संक्रमण नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्न सकेको छैन

नेपालमा २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगी संक्रमण देखिँदा ६ जनाको मृत्यु भएको थियो । अहिले करिव ९ महिनामा १९ हजार २३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमा पनि १८ हजार १ सय ३८ जना संक्रमित त साउन १६ यता मात्रै थपिएका हुन् ।

पछिल्लो २ महिनामा २४ जनाको निधन भएको छ । डेंगी संक्रमण अत्यधिक बढ्दा र दैनिकरुपमा मानिसको मृत्यु हुँदा पनि सरकारले नियन्त्रणको प्रभावकारी कदम चालेको छैन ।

डेंगीलाई राष्ट्रिय प्रकोप घोषणा गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य मन्त्रालयलाई सुझाव दिइसकेको छ । तर मन्त्रालयले भने चासो दिएको छैन ।

डेंगी संक्रमित बढ्दा अस्पतालमा बिरामीको चाप छ । ज्वरो आउने, वाक–वाकी लाग्नेलगायतका समस्यादेखि जटिल डेंगी अर्थात् शरीरका अंगले कामै गर्न छाड्नेसम्ममा बिरामी अस्पतालमा पुग्ने गरेका छन्। अझ कतिपय बिरामीले जथाभावी औषधी खाइदिँदा जटिलता निम्तिएको चिकित्सक बताउँछन् ।

अहिले ७५ जिल्लामा डेंगी संक्रमण देखिइसकेको छ । काठमाडौं, ललितपुर, रुपन्देहीलगायतका १० जिल्ला बढि प्रभावित छन् । त्यति मात्र नभएर पहाडी र हिमाली जिल्लामा पनि संक्रमण बढेको बढ्यै छ । सहज रुपमा परीक्षणको व्यवस्थासमेत हुन सकेको छैन ।

परीक्षण किटको मूल्यमा एकरुपता ल्याउने घोषणा गरेको सरकारले दुई साता बितिसक्दासमेत कार्यान्वयन गर्न सकेको छैन । यसले नागरिकका समस्यामा सरकार कति उदासिन छ भन्ने पुष्टि गरेको छ ।