१३ बैशाख २०८१, बिहीबार

प्यूठानमा एमाले र जनमोर्चाबीच प्रतिस्पर्धा हुने

uml and janamorcha

गठबन्धनबाट सिट बाडफाँड सकिँदा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्यूठानमा स्थानीय तहको मत परिणामका आधारमा पहिलो शक्ति एमाले र चौथो शक्ति जनमोर्चाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट पोलिटब्युरो सदस्य सूर्य थापा र पाँच दलीय गठबन्धनबाट जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलका बीच प्रतिस्पर्धा हुने भएको छ ।

एमाले र माओवादीको सहयोगमा २०७४ सालमा विजयी जनमोर्चा उपाध्यक्ष पौडेल अहिले काग्रेस र माओवादीको सहयोगमा एमालेसँग भिड्दै छिन् ।

बाम गठबन्धन्धनले २०७४ सालमा प्यूठानबाट ४७ हजार ५ सय १४ मत प्राप्त गर्दा काग्रेसले ३१ हजार २ सय ८६ मत पाएको थियो ।

३९ हजार ८ सय ७७ मत भएको एमाले अहिले एक्लै चुनाव लड्दै छ । २१ हजार ५ सय ६४ मत भएको कांग्रेस, १७ हजार १ सय ६३ मत भएको माओबादी केन्द्र, र १ हजार ४ सय १७ मत भएको एकीकृत समाजवादीको साथ जनमोर्चालाई छ ।

एमाले र गठबन्धनका उमेदवारको बीचमा करिव १२ हजार मतान्तर छ । तर गठबन्धनभित्रका दलहरुमै दुइ फरक बिचारले गठबन्धनलाई एमालेसँग चुनावमा होमिएर परिणाम ल्याउन समस्या छ ।

एमाले पनि गठबन्धनको विवादको फाइदा उठाउँदै निर्वाचन जित्ने दाउमा छ । गठबन्धनभित्रको विवादको फाइदा उठाउने ध्याउन्नमा लागेको एमाले प्यूठान आफ्नै दलभित्र उम्मेदवार सिफारिसका बिषयमा भएको बिवादमा भने अनबिज्ञता देखाउाछ ।

जवकी एमाले प्यूठानमा उम्मेदवार सिफारिस गर्दा एक समुह छलफलबाट बाहिरिएर सामाजिक सञ्जालमा चर्को विरोधमा उत्रिएको थियो ।

पाँच वर्षमा पौडेलले प्यूठानका मतदाताको समस्या बुझ्न चासो नदेखाएको एमालेको आरोप छ । गठबन्धनभित्रका दलहरु पनि दुई दुई पटक संसद् विघटन गर्ने पार्टीभन्दा गठबन्धन उत्तम भएको तर्कसहित मतदाताकोमा पुग्न थालेका छन् ।