७ बैशाख २०८१, शुक्रबार

आफूलाई सधैँ सत्तामा टिकाउन सफल देखाउँदै आएका कमल थापालाई हेटाैँडाबाट चुनाव जित्न चुनाैती

kamal
फाइल फोटो

कमल थापा नेपाली राजनीतिका माहिर खेलाडी भनेर चिनिनुहुन्छ । राप्रपाको नेतृत्व गर्दै पार्टी र आफूलाई सधैँ सत्तामा टिकाउन सफल भएपनि १६ वर्षपछि थापा नेतृत्व गर्नबाट चुक्नुभयो ।

अहिले राप्रपा नेपालको अध्यक्ष बन्नुभएका थापा पुनः प्रतिनिधिसभाको चुनाव लड्ने योजनामा हुनुहुन्छ । छैठौँ पटक प्रतिस्पर्धा गर्ने तयारी भएपनि थापाको जीत सहज छैन ।

सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति घोषणा गरेपछि नेताहरू चुनावी रणनीति बनाउन जुटेका छन् । त्यसको पहिलो नम्बरमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि हुनुहुन्छ । २०४८ सालदेखि आम निर्वाचनमा भाग लिँदै आएका थापाले अहिलेसम्म पाँच पटक चुनावमा होमिँदा एकपटक मात्रै सफलता प्राप्त गर्न सक्नुभएको छ ।

प्रत्यक्षमा नभएर कहिले समानुपातिकबाटै भएपनि संसद प्रवेश गर्नुभएका थापा यो पटक १६ वर्षदेखि नेतृत्व गर्दै आएको राप्रपाबाट बाहिरिएर राप्रपा नेपालबाट चुनावमा होमिँदै हुनुहुन्छ । लाखौँ कार्यकर्ता भन्दा फरक सीमित व्यक्ति र कार्यकर्तामा रमाइरहेका थापालाई यो पटक पनि चुनावमा जीत निकाल्न सहज छैन ।

कमल थापाले लडेका कुन चुनावमा के भयो ?
–२०४८ सालमा कमल थापा एमालेका कृष्ण दाहालसँग ५ हजार मतान्तरले पराजित
–२०५१ को मध्यावधि निर्वाचनमा कमल थापा १६ हजार ७ सय ५३ मतसहित विजयी
–२०५६ को आम निर्वाचनमा एमालेकै कृष्ण दाहालसँग ५ हजार मतान्तरले पराजित
–२०६४ को संविधान सभा निर्वाचनमा माओवादीका प्रह्लाद लामिछानेसँग पराजित
–२०७० को संविधान सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद्
–२०७४ को आम निर्वाचनमा कृष्ण दाहालसँग ५ हजार ७ सय ३ मतान्तरले पराजित

लाखौँ कार्यकर्ताको नेतृत्व गरिरहँदा पनि थापाले पाँच पटक चुनाव लड्दा एक पटक मात्रै जित्नुभएको थियो भने अहिले अवस्था फेरिएको छ । वर्षौदेखिसँगै काम गरेका दीपकबहादुर सिंह, मधु अधिकारी, खिलप्रसाद चौलागाईंलगायतका व्यक्ति थापासँग छैनन् ।

केन्द्रको राजनीति हाँकिरहँदा हेटौँडामा सिंहले नै थापालाई सहयोग गर्दै आउनुभएको थियो । तर, सिंह अहिले लिङ्देन नेतृत्वको राप्रपामा हुनुहुन्छ । तर, फरक पार्टी भएपनि सिंहबाट कुनै समस्या नहुने दावी थापाको छ ।

उता, अर्का हितैषी मधु अधिकारी मेयर पदको टिकट नपाएको भाउन्नमा नेकपा एस गएकाले पनि अब राप्रपालाई सहयोग गर्ने समूह हेटौँडामा छैनन् । थापाका सहयात्री नै यो पटक चुनाव जित्न नसक्ने अड्कलबाजी गरिरहेका छन् ।

अध्यक्षमा पराजित भएपछि खोलेको नयाँ दलले कार्यकर्ता थापासँग थप रुष्ट छन् । पार्टीको एजेन्डा भन्दा पनि सत्ता स्वार्थमा रुमल्लिँदाको परिणामले थापालाई गृहनगरमा फेरि साथ नमिल्ने देखिन्छ ।

एमालेको साथमा यो पटक जीत निकाल्न सहज छैन । एमालेप्रतिको बढ्दो असन्तुष्टी र अन्तर्घातका कारण जित्न सकिनेमा थापा नै ढुक्क हुनुहुन्न । अहिले गठबन्धनसँग लबिङ गरिरहेको चर्चा मकवानपुरमा चलिरहेको छ । तर, गठबन्धनबाट थापाका लागि निर्वाचन क्षेत्र छोड्न विरोध खतिवडा, इन्द्र बानियाँ, डिना उपाध्याय तयार हुने कुरै भएन । अन्तिम पटक चुनाव लड्ने घोषणा गरिसक्नुभएका थापाका लागि यो चुनाव जितेर देखाउन फलामको चिउरा चपाए बराबरको स्थिति छ ।