१६ चैत्र २०८०, शुक्रबार

समयमा निर्वाचन खर्च नबुझाउने खोटाङका गाउँपालिका अध्यक्ष र उपाध्यक्षका ४४ उम्मेदवार कारबाहीमा परे

khotang

समयमा निर्वाचन खर्च नबुझाउने खोटाङका गाउँपालिका अध्यक्ष र उपाध्यक्षका ४४ उम्मेदवार कारबाहीमा परेका छन् । तोकिएको समय अवधिमा निर्वाचन खर्च नबुझाएकामा जिल्लाका १० वटै स्थानीय तहका अध्यक्ष र उपाध्यक्षका निर्वाचित र पराजित उम्मेदवार निर्वाचन आयोगको कारबाहीमा परेका हुन् । आयोगले उनीहरूलाई जनही साढे तीन लाखका दरले जरिवाना तोकेको छ ।

निर्वाचन आयोगका अनुसार ऐसेलुखर्क गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्वाचित गीरेन्द्रबहादुर राई, माओवादी केन्द्रबाट अध्यक्षमा उठेका श्रीबहादुर राई, अध्यक्षका स्वतन्त्र उम्मेदवार सन्तवीर तामाङ, राप्रपाबाट अध्यक्षमा उठेका विष्णुकुमार निरौला, जसपाबाट अध्यक्ष उठेका सुरेश राई, कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित राजेशकुमार राजभण्डारी, एमालेबाट उपाध्यक्ष उठेकी पुष्पकला भुजेल र राप्रपाबाट उपाध्यक्ष उठेकी डोल्मा राजभण्डारीलाई जरिवाना गरेको हाे । केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीबाट अध्यक्ष उठेका माइतीराज राई र कांग्रेसबाट उपाध्यक्ष उठेकी राधा गिरी जरिवानामा परेको आयोगले जनाएको छ । 

 यस्तै, खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित उदिमबहादुर राई, कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित रुपेश राई, एमालेबाट अध्यक्ष उठेकी कविता राई र उपाध्यक्ष उठेका राजन बञ्जरा, जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित अरुणादेवी राई, राप्रपाबाट अध्यक्ष उठेका भक्तबहादुर खड्का, कांग्रेसबाट उपाध्यक्ष निर्वाचित खेमबहादुर खड्का, एमालेबाट अध्यक्ष उठेका शंखरबहादुर राई र एमालेबाट उपाध्यक्ष उठेकी विमला राई कारबाहीमा परेका छन् । 

आयोगले बराहपोखरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित शालिकराम बञ्जरा, एकीकृत समाजवादीबाट उपाध्यक्ष निर्वाचित भुवलराज राई, एमालेबाट अध्यक्ष उठेकी गोमा मगर र एमालेबाट उपाध्यक्ष उठेका जीवनकुमार राई, साकेला गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष उठेका अर्जुनकुमार खड्का, एमालेबाट अध्यक्ष उठेका गोपीकृष्ण खड्का, माओवादी केन्द्रबाट उपाध्यक्ष निर्वाचित बिर्सिका राई, कांग्रेसबाट उपाध्यक्ष उठेकी सरिता खड्का र एमालेबाट उपाध्यक्ष उठेकी दिलकुमारी राई जरिवानामा परेका छन् । 

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्वाचित लोकेन्द्र राई, एमालेबाट उपाध्यक्ष निर्वाचित अरुणा थापा, कांग्रेसबाट अध्यक्षमा उठेका नइन्द्र राई, माओवादीबाट अध्यक्ष उठेका गोपालचन्द्र राई, राप्रपाबाट अध्यक्ष उठेकी कल्पना राई, अध्यक्षका स्वतन्त्र उम्मेदवार विश्वराज राई, कांग्रेसका उपाध्यक्षका उम्मेदवार रमा कटुवाल र माओवादीबाट उपाध्यक्षमा उठेकी नैनकुमारी खत्रीलाई जरिवाना तोकिएको छ । 

रावाबेँसी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष निर्वाचित फटिककुमार श्रेष्ठ, एमालेबाट अध्यक्ष उठेका हरिकुमार पोखरेल, जसपाबाट अध्यक्ष उठेका मोहन गुरुङ, राप्रपाबाट अध्यक्ष उठेका भक्तबहादुर गुरुङ, एमालेबाट उपाध्यक्ष निर्वाचित कौशिलाकुमारी गुरुङ, माओवादीबाट अध्यक्ष उठेका लिलानारायण श्रेष्ठ, जसपाबाट उपाध्यक्ष उठेकी झुमा नेपाल र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष उठेका विनोद राईले जरिवाना तिर्नुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।