७ बैशाख २०८१, शुक्रबार

‘बाबरी’ रमाईलो फिल्म हो, ‘सानो राजासाहेब’को चरित्र निर्वाह गर्न चुनौतीपूर्ण थियो : धिरज मगर

dhiraj magar

अभिनेता धिरज मगर ४ वर्षको ग्यापपछि चलचित्र ‘बाबरी’मार्फत दर्शकमाझ पुनरागमन हुँदैछन् । ‘बाबरी’ दशैंको अवसर पारेर प्रदर्शनमा आउँदैछ्, असोज १४ गतेदेखि ।

‘ईन्टु मिन्टु लण्डनमा’ डेब्यू अभिनेता धिरजको स्टारडमले ‘बाबरी’को इनिसियल व्यापारमा फाइदा पुग्ने विश्लेषण चलचित्रकर्मीहरुले गरिरहेका छन् । तर, धिरज स्वयंमलाई भने आफू स्टारडम भएको अभिनेता हो भन्ने नै लाग्दैन् ।

‘म सँग चलचित्रको राम्रो ओपनिङ गर्ने खालको स्टारडम छ भन्ने नै लाग्दैन । मलाई व्यक्तिगत रुपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन’ केही दिनअघि राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘किनकी, यो मेरो दोस्रो चलचित्र हो ।

मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारको रुपमा चाहीँ बढी जिम्मेवारी महशुस गर्छु ।’ चलचित्र चल्नका लागि चलचित्र आफैंमा राम्रो हुनुपर्ने धिरजको तर्क छ ।

पहिलो ‘इन्टु मिन्टु लण्डनमा’ र दोस्रो चलचित्र ‘बाबरी’मा आफूले निर्वाह गरेको क्यारेक्टरमा धेरै रहेको धिरज बताउँछन् । चलचित्रमा धिरजले ग्रामिण क्षेत्रको ठकुरीको क्यारेक्टर निर्वाह गरेका छन् । ‘क्यारेक्टर एकदमै रिसाहा छ ।

गाउँको सबैले मान्ने, सबलाई थर्काउँदै हिँड्ने खालको क्यारेक्टर हो’ धिरज आफ्नो क्यारेक्टरबारे सुनाउँछन्, ‘त्यही भएर पनि उसको भ्वाइस अलिकति लाउड, अलिकति बोल्ड, अलिकति डोमिनेटिङ टाइपको हो ।

उसमा अलिकति मै हुँ भन्ने घमण्ड पनि छ ।’ २ वर्षको उमेरमै यूके पुगेर उतै हुर्किएका धिरजले ‘सानोे राजासाहेब’को चरित्र निर्वाह गर्न एकदमै चुनौतीपूर्ण रहेको स्मरण गरे ।

बास्तविक धिरजभन्दा चलचित्रको क्यारेक्टर ठिक उल्टो भएकाले पनि गाह्रो भएको धिरजले सुनाए । ‘चलचित्रमा मेरो क्यारेक्टर मभन्दा विल्कुलै फरक छ ।

म यूकेमा हुर्केकाले गाउँको सानो राजासाहेबको क्यारेक्टर गर्नु भनेको एकदमै चुनौतीपूर्ण थियो’ धिरजले भने, ‘यद्यपि, कलाकारको रुपमा मैले आफूले आफूलाई एक्स्प्लोर गर्न पाएँ र त्यो क्यारेक्टरलाई न्याय गर्न सकेँ भन्ने लाग्छ ।’

धिरजका अनुसार चलचित्र एकदमै रमाइलो बनेको छ । ‘तपाईंको परिवारहरूसँगै बसेर हेर्ने खालको चलचित्र बनेको छ । गीतहरू हेरिसक्नुभएको छ, एकदमै मन पराइदिनुभएको छ । चलचित्र हेर्न हलमा आउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु’ धिरज भन्छन् ।

‘कृ’ फ्रेम्ड निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘बाबरी’मा धिरजको अपोजिटमा अभिनेत्री अदिति बुढाथोकी छिन् । अभिनेत्री तृप्ति नाड्करका छोरा धिरज नाड्कर पनि ‘बाबरी’मार्फत नेपाली चलचित्र उद्योगमा डेब्यू गर्दैछन् ।

चलचित्रमा बादल भट्ट, कमलमणि नेपाल, शेखर चापागाईँ, उर्मिला बस्नेत, धु्रब कोइराला, सुनिता श्रेष्ठ, निकिता आचार्य, हिना नगरकोटी, नितेश गुरुङ, त्रिशाला तामाङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको समेत अभिनय छ ।

सार्वजनिक टिजर, ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत, स्वयंम निर्देशक पौडेलको सम्पादन छ ।

    सम्बन्धित समाचार...