११ बैशाख २०८१, मंगलवार

के-के कारण राेचक बन्दै छ महिला साफ च्याम्पियनसिप ?

Capture 2

दक्षिण एसियाली क्षेत्रको महिला फुटबलमा भारतको दबदबा तोड्दै नेपाल र बंगलादेशले फाइनलमा स्थान बनाए। महिला साफ च्याम्पियनसिपको १२ वर्षको इतिहासमै पहिलो पटक भारत सेमिफाइनलबाटै बाहिरिँदा यस पटकको संस्करणबाट नयाँ च्याम्पियन थपिने छ । मुख्य प्रतिद्धन्द्वी भारतलाई पन्छाएसँगै नेपाल र बंगलादेशको नजर अब उपाधिमा केन्द्रित छ ।

सन् २०१० मा बंगलादेशबाट सुरु भएको महिला साफ च्याम्पियनसिपको १२ वर्षको इतिहासमा भारतको एक्लो वर्चस्व रह्यो । अहिलेसम्म भएका ५ वटै संस्करणको एक मात्र विजेता भारत नै हो । उपाधि मात्र होइन साफ इतिहासमै भारतले पहिलो हार यही संस्करणमा आएर व्यहोर्यो, त्यो पनि यी दुई फाइनलिष्ट नेपाल र बंगलादेशसँग ।

साफमा लगातार २५ खेलसम्म अपराजित यात्रा गरेको भारतलाई समुह ए को अन्तिम खेलमा बंगलादेशले र नेपालले सेमिफाइनलमा हराउँदै ऐतिहासिक जित निकाले । साफको अघिल्लो ५ संस्करणमध्ये नेपाल ४ पटक र बंगलादेश १ पटक फाइनल पुगेर भारतसँनै पराजित भएका थिए । मुख्य तगारो भारतलाई पन्छाएसँगै अब नेपाल र बंगलादेश दुवैको नजर उपाधिमा केन्द्रित छ ।

नेपाल र बंगलादेशलाई पनि दक्षिण एसियाली क्षेत्रमा बलियो दाबेदारका रुपमा लिइन्छ । यस पटक फाइनलसम्म आइपुग्दा दुवैले क्लिन सिट राखेका छन् । बंगलादेशले समुह ए मा माल्दिभ्सलाई ३-०, पाकिस्तानलाई ६-० र भारतलाई ३-० ले हराउँदा पहिलो पटक सेमिफाइनल खेलेको भुटानलाई ८-० गोलले हराएको थियो । नेपालले भने समुह बी मा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराउँदै सेमिफाइनलमा भारतलाई १-० ले पराजित गरेको थियो ।

अब नेपाल र बंगलादेशको हेड टू हेड हेर्ने हो भने नतिजा नेपालको पक्षमा छ । अहिलेसम्म खेलेका ८ खेलमध्ये नेपाल अपराजित रहँदै २ खेलमा बराबरीमा चित्त बुझाएको छ। साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच ३ खेल भएका छन् । जसमा नेपालले बंगलादेशविरुद्ध कुनै गोल खाएको छैन् ।

बंगालदेशमै भएको साफको पहिलो संस्करणमा ३-० ले जितेको नेपालले पाकिस्तानमा भएको तेस्रो संस्करणमा १-० र नेपालमै भएको गत संस्करणमा ३-० को जित निकालेको थियो । पछिल्लो पटक दशरथ रंगशालामा भएका दुई मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल पहिलो खेलमा २-१ ले विजयी हुँदा दोस्रो खेल भने गोल रहित बराबरी भएको थियो ।

यस्तोमा बंगलादेशविरुद्ध गर्विलो इतिहास बनाएको नेपाल त्यसलाई कायम राख्दै अर्को सफल अध्याय कोर्न चाहन्छ ।

त्यसो त बंगलादेशी टोली पनि लयमै देखिन्छ । जारी प्रतियोगितामा २० गोल गरिसकेको नतिजाले पनि बंगलादेशको स्तर पुष्टि हुन्छ । उसका आक्रामक मिडफिल्डर सबिना खातुन ८ गोल सहित सर्वाधिक गोलकर्ता बन्ने होडमा धेरै अगाडि छिन् । खेलाडी जीवनको उत्तरार्धमा रहेकी २८ वर्षीय खातुन टोलीलाई पहिलो उपाधि दिलाउँदै सन्यास लिने मुडमा छिन् ।

त्यसैले यो संस्करण धेरै अर्थमा स्मरणीय बन्ने छ । पाकिस्तान फिफाको लामो प्रतिबन्धपछि अन्तराष्ट्रिय खेलमा फर्किनु, भुटान पहिलो पटक साफको सेमिफाइनल पुग्नु तथा साफ इतिहासमा भारत पहिलो पटक पराजित हुनुजस्ता संयोगले ऐतिहासिक बनेको यो संस्करणले अब अर्को इतिहास कोर्न बाँकी छ । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा सोमबार अपराह्न ५ बजे सुरु हुनेछ ।