१६ चैत्र २०८०, शुक्रबार

सामूहिक दाहसंस्कार अछाम बाढी र पहिरोमा ज्यान जाने २३ जनाको

307355836 1939026649624871 3930326375282528766 n

बाढी र पहिरोमा परि २३ जनाको ज्यान जानेको आज सामूहिक दाहसंस्कार गरिएको छ ।  जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए । 

शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिका सहित २३ जनाको ज्यान गएको थियो ।

परिवार पुरै सखाप हुने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ । जिल्लाको कमलबजार नगरपालिका ६ विपथमा ७ जना, बडा नम्बर ८ ढाँकुमा ५ जना, तुर्माखाँद ५ नाडामा ९ जना र ढकारी ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक/ एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  कमलबजार ६ विरपथकी २० बर्षीया धना जनाला ६ महिनाकी गर्भवती रहेकी र पेट काटेर छोरा गर्भमा रहेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ  ।

भौतिक क्षतिसमेत ठुलो नै भएको त्यसको विवरण सङ्कलन कार्य जारी रहेको डिएसपी डाँगीको भनाइ छ । स्थानीय तहले जथाभाबी सडक निर्माण गर्ने गरेका कारण अछाम जिल्ला नै पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरो गएका सबै ठाउँमा सडकको कारण प्रमुख रहेको पाइएको छ । गत साउन ८ गते राती तुर्माखाँद २ भुलुमा पहिरो गई तीन जनाको मृत्युको कारण पनि घर माथिको सडक रहेको जनाइएको छ  । 

बिना तयारी अध्ययन बिना नै डोजरले बाटो खन्ने क्रम बढ्दो छ । पहिरो गएका आसपासका र अन्य संवेदनशील क्षेत्रमा अझै जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी लगायतले राहत दिन समेत थालेका छन् । सडक अवरुद्ध भएका कारण घटना स्थल सम्म जान समेत समस्या रहेको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका सभापति रत्नप्रसाद ढुङ्गानाले बताए । पहिरोमा परी घाइते ११ जना मध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।