७ बैशाख २०८१, शुक्रबार

विकासकाे बाधक ओहदामा हुनेहरुको गलत मनाेविज्ञान : मन्त्री चौधरी

metmani1663485353

शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरुको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताउनुभएकाे छ ।

नवप्रवेशी इन्जिनियरहरुलाई डोलीद्वारा आयोजित पूर्वाधार विकास आयोजनाहरुको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै शहरी मन्त्री चौधरीले विकासकाे बाधक गलत मनाेविज्ञान भएकाे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरुको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन । पदमा रहँदा कमाउनै पर्ने, पैसा जम्मा गर्नै पर्ने भएपछि न गुणस्तरको काम हुन्छ । न समयमै योजना सकिन्छ । त्यसकारण अब हामी सबैले यस्तो गलत मनोविज्ञान त्याग्नै पर्छ ।’

तालिमले कार्य क्षमता अभिबृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र उच्च इमानदारिताका साथ काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिनुभयाे । जिम्मेवारी बोधका साथ काम गर्दै गए सचिव बन्न गाह्रो नभएको भन्दै मन्त्री चौधरीले सबैको सम्मान गर्दै, सबैलाई मिलाएर काम गरे मात्र सफल हन सकिने धारणा राख्नुभयाे ।

शहरी विकास मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले कर्मचारीले सकभर कामै नगर्ने, फाइल नपल्टाउने, पुराना फाइल हेर्ने, अल्झाउने र समयमा निर्णय पनि नगर्ने गरेकै कारण जनतामा गुनासो बढेकाले विकासका काम गर्दा जनतालाई केन्द्रमा राखेर छिटो निर्णय गर्न निर्देशन दिनुभएकाे थियाे ।

स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वर चन्द्र मरहट्टाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा मन्त्रालयका सहसचिवद्वय प्रदीप परियार र भरत अर्यालले मन्तव्य राख्नुभएकाे थियाे भने कार्यक्रमको सहजीकरन सिडिइ राजकाजी श्रेष्ठले गर्नुभएकाे थियाे ।