१२ बैशाख २०८१, बुधबार

ओरालो गति रोक्न आगामी निर्वाचनमा एमालेलाई हार्ने छुट छैन : केपी ओली

kp walkathon

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई हार्ने छुट नभएको बताउनुभएको छ ।

शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई उकालो गतिमा लैजान एमालेले मात्रै सक्ने भएकोले चुनावमा हार्न नहुने दाबी गर्नुभएको हो ।

ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाउनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउन एमालेको सरकार आवश्यक रहेको दाबी गर्नुभयो ।

‘यतिबेला देशलाई हार्न दिनु हुँदैन, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एकछिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले चलाउने हो भन्ने अभियानका साथ अघि बढन आग्रह गर्दछु। नेपाल नेपाली जनाले चलाउने हो, अरु कसैले होइन।’

अध्यक्ष ओलीले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताउनुभयो । नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता हार्नु हुँदैन, विकासको अभियान हार्नु हुँदैन भन्दै उहाँले यसका लागि सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन (पदयात्रा) शुरु गरेको हो। पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो।

पदयात्रा कार्यक्रममा अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।