१२ बैशाख २०८१, बुधबार

अछाम पहिरो अपडेट: एकै परिवारका ५ जनासहित ९ जनाको निधन, उद्दारका लागि हेलिकोप्टर पठाउन निर्देशन

landslide pahiro

अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा नौ जनाको निधन भएको छ ।

घटनामा २० जना घाइते भएका छन् । कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा एकै परिवारका ५ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनुभयो । त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

उता तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको उहाँले बताउनुभयो । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले जानकारी दिनुभयो।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे गृहमन्त्री बालकृष्ण खाण जानकारी लिनुभएको छ । उहाँले बाढी र पहिरोमा परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन समेत दिनुभएको छ ।