१५ बैशाख २०८१, शनिबार

टिकट माग्नेको भिड शीर्ष नेताहरुका घरदैलोमा

टिकट माग्नेको भिड शीर्ष नेताहरुका घरदैलोमा

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारका आकांक्षी शीर्ष नेताको घरदैलोमा धाउन थालेका छन् । जिल्लाबाट उम्मेदवारी सिफारिसमा परेका अधिकांश आकांक्षी काठमाडौंमा आएर टिकटको आशामा शीर्ष नेताहरुकोमा पुग्न थालेका हुन् ।

प्रमुख राजनीतिक दलमा टिकटका आकांक्षी अत्यधिक छन् । तर सबैले टिकट पाउन सम्भव नभएपछि शीर्ष नेतालाइ फकाउने कसरतमा आकांक्षी लागेका छन् । अहिले अधिकांस जिल्लास्तरिय नेताहरु केन्द्रीय नेताको घर दैलोमा पुगेर टिकट सुनिश्चित गर्ने रणनीतिमा लागेका छन् । मुख्य नेताहरुको घरमा विहानैदेखि भिड नै लाग्ने गरेको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको निवासमा धेरै भिड देखिन्छ । त्यस्तै देउवाका विश्वासपात्र मानिने बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेतालाई भेटेर टिकटको अपेक्षा गर्नेहरु पनि धेरै छन् ।

त्यसो त नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पनि टिकट सुरक्षित गर्न विहानैदेखि नेता कार्यकर्ताको घुइँचो लाग्ने गरेको छ । पार्टीमा एकल शक्तिको रुपमा रहेका ओलीले नै टिकट वितरण गर्ने भएपछि भिड लाग्ने गरेको हो ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत प्रभावशाली नेताको घरमा विभिन्न जिल्लाबाट आएका टिकटका आकांक्षी पुगिरहेका छन् ।

दलहरुले असोज २ र ३ गते समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाउँदै छन् । त्यस्तै असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने कार्यसूची छ ।