८ आश्विन २०७९, शनिबार

अनुदान नपाउँदा उद्योग बन्द गरेर विदेशिन बाध्य

Nepali Paper Udhyog

सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोच नआएको होइन । विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने बलियो सोचले नै उहाँले स्वदेशमै केही गर्ने अठोटका साथ कागज उद्योग सुरु गर्नुभयो ।

उहाँले २०७५ सालमा सुर्खेतकै पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याउनुभयो । दुई रोपनी जग्गा भाडामा लिएर रु सात लाखमा नेपाली कागज उद्योग सञ्चालन गरेका उहाँले आठ जनालाई रोजगारीसमेत दिनुभएको थियो । उद्योगका लागि चाहिने कच्चा पदार्थ दैलेख र कालीकोटबाट ल्याउनुपथ्र्यो ।

सुरुआती चरणमा उद्योग राम्रै चलेको बुद्धिमान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुरुमा रु सात÷आठ लाख ऋण लिएर उद्योग सुरु गरेँ । उद्योगले राम्रै आम्दानी दिइरहेको थियो । सुर्खेत र नेपालगञ्ज नेपाली कागजको बजार राम्रो थियो ।” उद्योगबाट मासिक रु ६० हजारदेखि डेढ लाखसम्म नाफा दिइरहेको बताउनुभयो । स्थापनासँगै आठ जनालाई रोजगारी दिएको उद्योगले महिनामै रु दुईदेखि तीन लाखसम्म कारोबार गर्दै आएको पनि बुद्धिमानले बताउनुभयो ।

लोक्ता हाते कागजको कच्चा पदार्थ हो । लोक्तालाई पकाएर कागज उत्पादन गर्ने गरिन्छ । लेकाली जङ्गलमा पाइने बरुवा नामक बिरुवाको बोक्रालाई लोक्ता भनिन्छ । यसैबाट नेपाली कागज तयार हुन्छ । पछिल्लो समय सामुदायिक उपभोक्ता समितिले सामुदायिक वन क्षेत्रमा लोक्ता सङ्कलनमा रोक लगाइदिएपछि उहाँको उद्योग फस्टाउन सकेन । कच्चा पदार्थ अभाव हुन थालेपछि महँगोमा किन्नुपर्ने अवस्था आएको र उद्योगको नाफा विस्तारै घट्दै जान थालेको पनि उहाँले बताउनुभयो ।

कच्चा पदार्थ अभाव हुन थालेपछि नेपाली कागज उत्पादनमा समस्या पर्दै जान थालेको बुद्धिमानको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुआतको दुई वर्षसम्म उद्योगले कच्चा पदार्थ राम्रै पाइरहेको थियो । विस्तारै वन समितिले लोक्ता सङ्कलन गर्न नदिएपछि कच्चा पदार्थ अभाव हुन थाल्यो । कच्चा पदार्थ महँगियो । कच्चा पदार्थ अभावसँगै उत्पादन पनि घट्न थाल्यो । यता कागजको मूल्य भने अहिले पनि बढेको छैन । यसले उद्योग दिन प्रतिदिन घाटातर्फ गइरह्यो ।”

एकातिर कच्चा पदार्थको अभाव छँदै थियो, अर्कोतिर कोरोना सङ्क्रमणले सबैतिर अस्तव्यस्त बनाइदियो । कोरोनाकै कारण उद्योग सञ्चालनमा समस्या पर्न थालेपछि ऋणको जोहोमा चारैतिर भौतारिँदा पनि कहीँकतैबाट ऋण नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बुद्धिमानको गुनासो छ । “सञ्चालनको सुरुआतमा त ठीकै थियो, कोरोनापछि उद्योग निरन्तर घाटामा जान थाल्यो”, बुद्धिमानले भन्नुभयो, “कोरोनाको दोस्रो लहर सुरु भएपछि कच्चा पदार्थको अभाव, आर्थिक स्रोत र बजारीकरणले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।” उद्योगबाट राम्रै आम्दानी गर्न सकिने सम्भावना रहे पनि लगानीको अभावमा उद्योग बन्द गर्नुपरेको उहाँ बताउनुहुन्छ ।

उहाँले उत्पादित कागज बिक्री गर्न टाढा लिनुपर्ने झन्झटिलो प्रक्रिया, लगानीअनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चा पदार्थ नपाइनु, ढुवानीको समस्यालगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको बताउनुभयो । उहाँका अनुसार जाजरकोट, दैलेख, कालीकोटका जङ्गलमा पाइने लोक्ताको पनि अभाव भयो । उहाँको उद्योगबाट नोटबुक, डायरी, फोटोकपी पेपर, ए फोर साइज पेपर, गिफ्ट बक्स, गमलालगायत नेपाली हाते कागजका आकर्षक सामग्री उत्पादन हुने गर्दथ्यो । हाल कागज बनाउनका लागि महँगो र कोरोनाका कारण बजारको व्यवस्था नभएपछि उद्योग बन्द गरेको बताउँदै उहाँले भन्नुभयो, “न चाहिएको बेला कच्चा पदार्थ आउँछ, न कतैबाट अनुदान पाइयो, उद्योग सञ्चालन गर्न मुस्किल परेपछि बन्द गर्न बाध्य भएँ ।” स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदानसमेत टाठाबाठाले पाउने गरेको उहाँको गुनासो छ ।

स्थानीय तथा प्रदेश तहमा बारम्बर धाइरहँदा पनि उद्योगलाई कुनै सहयोग नभएको उहाँको गुनासो छ । स्वरोजगारमूलक तथा परम्परागत लघु घरेलु तथा साना उद्यमलाई सरकारले प्रोत्साहन गर्न नसकेको उहाँको गुनासो छ । अनुदान र ऋणका लागि सम्बन्धित निकायमा जाँदा पनि कमिसनमा मोलमोलाई हुने गरेको उहाँको तीतो अनुभव छ । अनुदान माग्दा हाकाहाकी यति र उति प्रतिशत भन्दै कमिसन माग्ने भेटिएको उहाँको अनुभव छ ।

कोरोना महामारीका कारण उद्योगमा परेको प्रभावले अहिले बुद्धिमान विदेशिने तयारीमा हुनुहुन्छ । कोरोनाका कारण दोस्रो पटकको बन्दाबन्दीका कारण उद्योग पूर्णरुपमा बन्द गर्नुपरेको उहाँले बताउनुभयो । “कतैबाट ऋण तथा अनुदान नपाएपछि अहिले विदेश जाने तयारी गरेको हुँ ।” उद्योगको ऋण र परिवार पाल्नकै लागि विदेशिन बाध्य भएको सुनाउँदै गर्दा उहाँले कागज उद्योग बन्द गरेर रोजगारी दिएका सबैलाई बिदाइसमेत गरिसक्नुभएको छ । कच्चा पदार्थको भाउ बढ्दा पनि कागजको भने मूल्य नबढ्नुले उद्योग सञ्चालनमा कठिनाइ भएको उहाँको अनुभव छ । चार वर्ष पहिला र अहिलेको कागजको मूल्य एउटै भए पनि कच्चा पदार्थको मूल्य आकाशिएको उहाँको भनाइ छ ।

नेपाली कागज उत्पादनका लागि सरकारले दिने अनुदानसमेत वास्तविक उद्यमीले पाउन नसक्दा आफूजस्ता उद्यमी विदेश पलायन हुनुपर्ने अवस्था आएको उहाँको गुनासो छ । साना तथा घरेलु उद्योग महासङ्घका अनुसार कर्णालीमा करिब १७ हजार साना तथा घरेलु उद्योग छन् । तीमध्ये मुस्किलले १० प्रतिशत उद्योग मात्र नियमित सञ्चालनमा छन् ।