१३ बैशाख २०८१, बिहीबार

पुनः बस्दै कार्यदलको बैठक, शीर्षस्थ नेतृत्वलाई आजै नै प्रतिवेदन बुझाउने तयारी

gath

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज (विहीवार) बिहान पुनः बस्दैछ ।

आज बिहान ९ बजे बस्ने बैठकले सिट बाँडफाँट सम्बन्धमा तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ ।

यसअघि बुधवार बसेको कार्यदल बैठकले सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । कार्यदलका सदस्य एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन तयार भएको र यसलाई विहीवारको बैठकमा अन्तिम रुप दिइने जानकारी दिनुभयो ।

अन्तिम रुप दिएपछि प्रतिवेदन शीर्षस्थ नेतृत्वमा विहीवार नै बुझाइने उहाँको भनाइ छ । यद्यपि सिट संख्याबारे भने थप छलफल गरेर औपचारिकरुपमा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिट संख्या करिब–करिब मिलेको छ । त्यसका निमित्त छलफलको आवश्यकता छ । प्रतिवेदन बनाउने काम प्रारम्भ गरिसकेका छौं ।’’

कुल ११ सदस्यीय कार्यदलको संयोजक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ । कांग्रेसबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन कुमार थापा सदस्य हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)बाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट वेदुराम भुषाल, प्रमेश हमाल हुनुहुन्छ ।

यसैगरी, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी, आनन्द शर्मा सदस्य हुनुहुन्छ ।