१५ चैत्र २०८०, बिहीबार

धमाधम उम्मेदवार सिफारिस सत्ता गठबन्धनमा सिट बाँडफाँट नहुँदै ?

gathabandhan

म‍ंसिर ४ गते हुने निर्वाचनका लागि मुख्य दलहरुले धमाधम आकांक्षी सिफारिस गर्न थालेका छन् । कतै आकांक्षीको लर्को लागेको छ भने कतै मुख्य नेता तानातानमा परेका छन्।

दलहरुले कतिसम्म हेलचेक्र्याइँ गरेका छन् भने ज्यान मुद्दामा जेलमा रहेका र भ्रष्टाचारमा मुद्दा चलिरहेका व्यक्तिलाई समेत उम्मेदवार सिफारिस गरिएको छ । 

सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृह क्षेत्र डडेलधुराबाट सिफारिसमा परेका छन्। अरु पदाधिकारी पनि अधिकांश आआफ्नो निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।

कांग्रेसले ज्यान मुद्दामा जेलमा रहेका मोहम्मद अफताव आलमलाई रौतहट-२ बाट र भ्रष्टाचारको मुद्दा लागेका निलम्वित सांसद विजयकुमार गच्छदारलाई सुनसरी-३ बाट सिफारिस गरेको छ ।

उम्मेदवार सिफारिस गर्नु दलहरुको आन्तरिक प्रकृया नै हो । तर सत्ता गठबन्धनमा सिटको कुरा नमिल्दै उम्मेदवार तोक्ने हतारोलाई अरु दलमाथि दबाब बढाउने रणनीतिका रुपमा पनि हेरिएको छ । 

सत्तारुढ माओवादी केन्द्रले उम्मेदवार सिफारिस गर्न तल्ला तहका कमिटीलाई जिम्मा दिएको छ । अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन-३ हो। उनको गोरखामा पनि चर्चा छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा- २ चुनाव लड्ने तयारीमा छन् ।  

एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल रौतहट-१ कि काठमाडौं-२  भन्ने यकिन भएको छैन । एकीकृत समाजवादीका दोश्रो तहका नेताहरु पनि गृह जिल्लाबाट सिफारिस भैरहेका छन् । तर जुन दलले जहाँ सिफारिस गरे पनि प्रतिनिधि सभाका प्रत्यक्ष तर्फ १६५ र प्रदेश सभाका ३३० सिट बाँडफाँट हुँदा छोड्ने सहमति भएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादव बारा- २ तथा सिरहा- १ र २ बाट सिफारिस भएका छन् । 

चुनावी तालमेलको सारथी खोजिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा-५ बाट निर्वाचन लड्दै छन् । सत्ता गठबन्धन र एमालेसँग समदुरीमा रहेको लोकतान्त्रिक समाजवादी लोसपाले भदौ २५ भित्र उम्मेदवार तय गरिसक्ने भनेको छ ।

उम्मेदवार सिफारिसको प्रारम्भिक आँकडाले आशालाग्दा र नयाँ पुस्ताभन्दा पुरानै अनुहार  दोहोर्‍याउन खोजेको देखिन्छ।