७ बैशाख २०८१, शुक्रबार

कोरोनाविरुद्धको एक करोडभन्दा बढी मात्रा खोप भण्डारमै

Covishield Vaccine

विश्वका विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई कोभिड खोपको चौथो मात्रा दिन सुरु गरिसकेका छन् । नेपालमा पनि अतिरिक्त मात्रा दिन थालेको ६ महिना बितिसकेको छ । १ करोडभन्दा बढी मात्रा खोप अझै मौज्दात छ। यस्तोमा नेपालमा चौथो मात्रा कत्तिको आवश्यक छ, सरकारी तयारी कस्तो छ ?

नेपालमा अहिलेसम्म कुल जनसंख्याको ७६ दशमलब ६ प्रतिशतले कोभिडविरुद्ध खोपको एक मात्रा र ७३ दशमलब ९ प्रतिशतले पूर्णमात्रा पाएका छन् । त्यसबाहेक सरकारले अतिरिक्त मात्रा खोपसमेत दिइरहेको छ, जुन ७७ लाखभन्दा बढीले पाइसकेका छन् ।

विश्वका अन्य मुलुकलाई हेर्ने हो भने दक्षिण कोरिया, डेनमार्क, थाइल्याण्डलगायतले नागरिकलाई चौथो मात्रा दिन सुरु गरिसकेका छन् ।

अस्ट्रेलिया, सिंगापुर, बेलायत, स्वीडेनलगायतले जोखिममा रहेका जनसंख्यालाई चौथो मात्रा दिँदै छन् । तर नेपालमा अहिलेसम्म चौथो मात्राका विषयमा कुनै छलफल भएको छैन ।

नेपालमा हालसम्म खरिद र अनुदान गरी ६ करोड १७ लाख ७६ हजार ७ सय ७० मात्रा खोप आइसकेको छ । त्यसमध्ये ५ करोड १६ लाख ४९ हजारभन्दा बढी लगाइसकिएको छ भने १ करोड १ लाखभन्दा बढी मात्रा मौज्दात छ ।

पछिल्लो समय कुल जनसंख्यामा पहिलो र पूर्ण मात्रा पाउनेको प्रतिशतमा खासै अन्तर देखिने गरको छैन । १ करोड बढी खोप मौज्दात रहेको र कोभिड जोखिम कायमै रहेकाले सरकारले चौथो मात्रा दिने अपेक्षामा नागरिक छन् ।

नेपालमा पछिल्लो समय साढे ५ लाखभन्दा बढी खोप म्याद गुज्रेर फ्याँक्नु परेको थियो । अहिले १ करोडभन्दा बढी खोप मौज्दात रहेको र जनसंख्याको ७० प्रतिशतभन्दा बढीले खोप पाइसकेकाले नेपालमा पनि चौथो मात्रा दिन तयारी थाल्नुपर्ने विज्ञ बताउँछन् ।

१ करोडभन्दा बढी खोप मौज्दात रहेको, अतिरिक्त मात्रा लगाउन थालेको ६ महिना बितिसकेको र कोरोना जोखिम कायमै रहेकाले नेपालमा पनि चौथो मात्रा लगाउने विषयमा छलफल थाल्नुपर्ने देखिन्छ ।