१ जेष्ठ २०८१, मंगलवार

तीन दशकमा ३८ गुणाले बढ्यो चुनाव खर्च, सुशासनमा प्रश्न

nepal elecion commison

प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ साल वैशाख २९ गते भएको पहिलो आम निर्वाचनमा ८० करोड रुपैयाँ खर्च गरिएको थियो । त्यो बेला  निर्वाचन आयोगले गरेको खर्च ११ करोड मात्रै थियो ।

२०५१ सालमा भएको मध्यावधि र २०५६ सालको  निर्वाचनसम्म आइपुग्दा चुनाव खर्च ह्वात्तै बढ्यो । एक अर्बबाट झण्डै ३  अर्ब  पुग्यो । 

२०६२/ ६३ सालको जनआन्दोलनपछि २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा खर्च तेब्बर पुग्यो । त्यो चुनावमा साढे सात अर्ब खर्च हुँदा आयोगले २ अर्ब ८० करोड रुपैयाँ पाएको थियो । त्यसयता प्रत्येक निर्वाचनमा चुनावको खर्च दोब्बर हुँदै आएको छ । 

२०७० सालको दोस्रो संविधानसभा २०६४ को खर्चभन्दा झण्डै दोब्बरले वृद्धि भयो । आयोगले मात्रै झण्डै ६ अर्ब  खर्चेको तथ्याङक छ ।

२०७४ सालको स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा झण्डै ३० अर्ब खर्च भएको छ। आगामी  मंसिर ४ गते हुने निर्वाचनका लागि १९ अर्ब बजेट छुट्याइएको सरकारले आयोगलाई १० अर्ब दिएको छ।

निर्वाचन खर्चमा भैरहेको बढोत्तरीले समग्र चुनाव निकै महंगो बन्दै गएको पुष्टि गर्छ । नियमित काम गर्नैपर्ने सरकारी कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत दोहोरो तलब भत्ता दिएर राज्यकोषको मोटो रकम सिद्याउने गरिएको छ । 

यो त सरकार र आयोगले गर्ने प्रत्यक्ष खर्चको विवरण हो । प्रधानमन्त्री/मन्त्री चुनावमा खट्दा सुरक्षाकर्मी र सवारी प्रयोगमा तथा अप्रत्यक्ष खर्चको त हिसाब नै हुँदैन । 

२०४८ सालमा एक जना मतादाता बराबर ९ रुपैयाँ ८३ पैसा खर्च गरेको आयोगले ७४ को निर्वाचनमा आइपुग्दा ५ सय ३ रुपैयाँ खर्च गरेको तथ्यांकले निर्वाचनमा पैसा कसरी खन्याईन्छ भन्ने देखाउँछ । यो प्रवृतिले सुशासनमा कस्तो असर पार्छ त ?

समय, प्रविधि, जनशक्ति र महंगीले निर्वाचन खर्चमा असर त पर्छ नै । तर खर्च नियन्त्रणमा सरकार र आयोग संवेदनशील नहुँदा निर्वाचन थेग्नै गाह्रो हुनेगरी महंगो भैरहेको छ । उम्मेदवारको अधिक खर्चदेखि चलखेल र भष्ट्रचार जस्ता घटना बढ्दै गएका छन् ।