१६ आश्विन २०७९, आईतवार

सुर्खेतमा सरकारी तथा सार्वजनिक जग्गा जोगाउन पहल

Land

वीरेन्द्रनगर नगरपालिका-३ ले सरकारी तथा सार्वजनिक जग्गाको अवस्थाबारे खोजी गर्न थालिएको छ । सार्वजनिक जग्गा संरक्षणको नीति कार्यान्वयन गर्दै  वडा नम्बर ३ ले उक्त वडाभित्र पर्ने सरकारी तथा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने प्रक्रिया अघि बढाएको हाे । 

सडक क्षेत्र मिचेर नियमविपरीत निर्माण गरिएका र नक्सा पास नभएका अवैध भौतिक संरचनाहरू हटाउन लागिएको हाे । वडा अध्यक्ष विनोदसिंह विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर वडामार्फत सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापन गर्न थालिएको बताए । त्यसका लागि वडा कार्यालयले मंगलबार ३५ दिने सूचनासमेत जारी गरेको छ ।

सूचनामा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका र नक्सा पास नगरिएका भौतिक संरचना हटाउन भनिएको छ । दिएको समयसीमाभित्र अटेरी गरी अवैध संरचना नहटाए नियमअनुसार कारबाही हुने वडा अध्यक्ष विष्टले जनाए ।

गत २३ जेठको नगर कार्यपालिकाको बैठकले निर्णय नम्बर ७ मा सार्वजनिक जग्गाको लगत लिइ सोको उचित संरक्षण र सार्वजनिक गर्ने निर्णय गरेको थियो । नगरप्रमुख मोहनमाया ढकालले निर्णय सार्वजनिक गर्दै नगरमा प्रयोग र खाली रहेका सार्वजनिक जग्गाको अवस्थाबारे अध्ययन गरी यकिन विवरण बाहिर ल्याइने बताएकी थिइन् ।

याेजनावद्ध सहर निर्माणको लक्ष्यसहित सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएको नगरले पहिलो कार्यपालिका बैठकबाटै सडक अतिक्रमण हटाएर आवागमन सहज बनाउने निर्णय पनि गरेको थियो । वडा नम्बर ३ का अध्यक्ष विष्ट आफ्नो वडामा सडक अतिक्रमणको समस्यासमेत धेरै देखिएकाले त्यसको व्यवस्थापन गर्न लागिएको बताए ।

उनका अनुसार वीरेन्द्रनगर-३ मा व्यावसायिक प्रयोजनका लागि निर्माण गरेका ठूला होटलले समेत नक्सा पास नगरी जथाभावी भौतिक संरचना बनाएका छन् । यस्ता संरचना सम्बन्धित सञ्चालकले नहटाए वडाले आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

सरकारी तथा सार्वजनिक जग्गा धेरै रहेको भनिने वीरेन्द्रनगरमा ती जग्गाहरूको अवस्थाबारे भने निश्चित विवरण छैन । वीरेन्द्रनगरमा नगर विकास समिति र जिल्ला समन्वय समिति मातहत ठूलो परिमाणमा जग्गा छन् । ती निकायले केही जग्गा भाडामा दिएका छन् भने कतिपय जग्गाको अवस्थाबारे सम्बन्धित निकाय नै अनभिज्ञ छन् ।

नगरपालिका मातहत रहेको र नगर प्रमुख नै संयोजक हुने नगर विकास समितिले भाडामा लगाएका जग्गाको नियमित राजस्वसमेत उठान सकिरहेको छैन । बजार क्षेत्रमा रहेका जग्गाको भाडासमेत निकै न्यून लिने गरिएको छ । पहुँचको आधारमा नगर विकासबाट जग्गा हत्याएका कतिपय व्यवसायीले वर्षौंदेखि भाडा पनि बुझाएका छैनन् ।

बढ्दो सहरीकरणसँगै तीव्र अतिक्रमण र फूटपाथको व्यवस्थापनसमेत गतिलो नहुँदा केही वर्ष पहिलेसम्म ‘सुन्दर नगरी’ का रूपमा परिचित वीरेन्द्रनगर पछिल्लो समय कुरूप देखिन थालेको छ । जीर्ण र साँघुरा सडक नै ढाकिने गरी व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति बढ्दो छ । फूटपाथ र ट्राफिक व्यवस्थापनका लागि पटक–पटक प्रयास गरे पनि नगरपालिका सफल हुन सकेको छैन ।

नगरका उपत्यकाभित्र पर्ने सबैजसो वडामा सार्वजनिक जग्गा अतिक्रमणको समस्या उस्तै छ । जसले गर्दा नगर झन्–झन् अव्यवस्थित बन्दै गएको छ । नगर अव्यवस्थित भएको सर्वत्र आलोचना हुन थालेपछि अहिले नगरपालिका वडा कार्यालयहरूमार्फत सार्वजनिक जग्गाको संरक्षणमा लागेको हो ।

सोही अभियानअन्तर्गत मंगलवार नगरपालिकामा सरोकारवाला निकायको बैठक बाेलाएकाे थियाे । वीरेन्द्रनगरको सवारी पार्किङ व्यवस्थापन र वीरेन्द्रचोकदेखि खोर्केखोला हुँदै यरीचोक जाने सडकमा सवारी साधनलाई वान–वे मात्रै सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ ।