७ बैशाख २०८१, शुक्रबार

हिन्दू नारीहरुले शिवको पूजा आराधना गरी तीज पर्व मनाए

teej 1

आज भाद्र शुक्ल तृतीया, हिन्दू नारीहरुले धुमधामका साथ हरितालिका तीज मनाएका छन्। यो पर्व महिलाले परिवारको सुख समृद्धिको कामनासहित शिवमन्दिर र शिवालयहरुमा महादेवको पूजा आराधना गरी मनाउने गरेका छन्। तर बदलिँदो समयसँगै तीज मनाउने तौरतरिका भने बदलिएका छन्।

आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा देशका विभिन्न ठाउँबाट आएका श्रद्धालुको घुइँचो लागेको थियो। पूजा आराधना सकेर नाचगान गर्नेहरुको भीड पनि उत्तिकै थियो भने दर्शनका लागि आउने क्रम पनि चलिरहेको थियो।

तीज महिलाका लागि विशेष चाड मानिन्छ। तर बद्लिदो समयसँगै तिज मनाउने तौरतरिका पनि बदलिएका छन्। हिजोका दिनमा निराहार व्रत बस्दा पनि घरको कामको चटारोले छोड्दैनथ्यो धेरैलाई। तर अहिले खुलेर राम्रा लुगा लगाएर छोरी बुहारी समान रुपमा तिज मनाउन थालेको अनुभव धेरैसँग छ ।

तिजको दर पहिले एक दिन खाइन्थ्यो भने पछिल्लो समय हप्ता दिनअघिदेखि नै खान थालिएको छ। हिजोका दिनमा चेलीहरुले तीजलाई आफ्नो दु:खपीडा व्यक्त गर्ने अवसरका रुपमा लिन्थे र माइतीमा साथीसंगीसँग बिलौनाका भाका गाउँथे। तर आजभोलि तीजमा रमाइला भाका घन्किन्छन्। महिला समूह तथा साथीसंगी जमघट भएर दर खाने गरिन्छ।

तीज भड्किलो हुँदै गएको छ। तीज मनाउने तरिका बद्लिए पनि यसको मूल्यमान्यता बद्लिएको छैन। पुर्खाकै सिकोमा नयाँ पुस्ताले यो पर्वलाई निरन्तरता दिइरहेका छन्।

सत्ययुगमा हिमालय पर्वत पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता छ । आजभोलि तीजलाई नारी सशक्तीकरण र आवाज बुलन्द बनाउने पर्वको रुपमा पनि लिन थालिएको छ।