१२ बैशाख २०८१, बुधबार

अभियन्ताको ज्यादती कमेडियन अपूर्व क्षितिज सिंहमाथि

Apoorwa Kshitiz

युट्यवमा प्रसारण भएको सामग्रीलाई आधार बनाउँदै सिए एवं कमेडियन अपूर्व क्षितिज सिंहमाथि अभियन्ताहरूले ज्यादती गरेको उनको परिवारले जनाएका छन् । 

युट्युब च्यानल कमेडी क्याफेमा राखिएको प्रहसनले नेवार समुदायको भाषा र संस्कृतिमाथि ब्यंग्य गरेको उजुरीको आधारमा प्रहरीले सिंहलाई १० दिन हिरासतमा राखेको छ । ९८ जना नेवार अभियन्ताहरूले सिंहले आफ्नो भाषा र संस्कृतिमाथि व्यंग्य गरेको भन्दै उजुरी हालेका हुन् ।

काठमाडौँ प्रहरी परिसरले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १० को दफा १ सय ६५  विपरीत काम गरेको दाबी गरेको छ। यस अगाडि युट्यवमा प्रसारण भएको सामग्रीविरुद्ध उजुरी परेमा प्रहरीले विद्धुतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको थियो। तर कमेडियन  सिंहको हकमा भने प्रहरीले मुलुकी अपराध संहिताअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। जसले आगामी दिनमा जातीयताको आन्दोलन सुरु हुने उनका आफन्तहरूले चेतावनी दिएका छन् ।

सर्लाहीकाे हरिवन घर भएका सिंहले भारतको नयाँ दिल्लीबाट चार्टर्ड एकाउन्ट उत्तीर्ण गरेका हुन् । उनका बाबु हरिवनका चर्चित हेडमास्टर हुन् ।

आफूविरुद्ध जाहेरी परेको जानकारी पाएपछि सिंह आफैँ प्रहरी कार्यालयमा उपस्थित भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्रशासन कार्यालयमा पेस गरेको थियो। गत शुक्रवार युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा उनको प्रहसन सार्वजनिक भएपछि विवाद भएको थियो। विवादलगत्तै भिडियो हटाएर सिंहले माफी पनि मागेका थिए। लिखित माफीले मात्रै विवाद साम्य नभएपछि उनले माफी माग्दै भिडियो पनि राखेका थिए।

तर नेवा समुदायका केही अभियन्ताले कमेडीको बहानामा संस्कृतिमाथि नै भद्दा प्रहार गरेको भन्दै कारबाही नै हुनुपर्नेमा अडान लिएपछि प्रहरीले हिरासत र अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। अहिले यो विषयमा दुवै पक्षलाई राखेर प्रहरीले छलफल गरिरहेको छ ।

यसअघि पनि स्ट्यान्डअप कमेडीमा कलाकारहरूले यस्ता प्रहसन गर्दै आएका छन् । तर, कहीँ कतै कोहीविरुद्ध उजुरी परेको छैन । कसैमाथि उजुरी परेमा सबैतिर विराेध र प्रतिवाद हुन्थ्याे । तर सिंहकाे पक्षमा काेही उभिएका छैनन् ।

    सम्बन्धित समाचार...