१६ चैत्र २०८०, शुक्रबार

एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी, यसअघिको म्यादीलाई पहिलो प्राथमिकता

myadi म्यादी

सरकारले मंसिर ४ मा हुने निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।

आसन्न निर्वाचन सुरक्षार्थ ४० दिनका लागि म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरिएको हो ।

आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । सोही निर्वाचनमा प्रहरीलाई सघाउन एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न प्रहरी प्रधान कार्यालयले अर्थमन्त्रालयमा प्रस्ताव पठाएको थियो ।

उक्त प्रस्तावपछि अर्थले सहमति समेत दिएको नेपाल प्रहरीका कार्यवहाक आईजीपी सहकुल थापाले बताउनुभयो । अब सरकारको निर्णय प्राप्त भए लगत्तै थप प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसपालि पनि स्थानीय तहको निर्वाचनमा खटिएका म्यादीलाई प्राथमिकता दिने योजना बनाइएको छ । यसबारे आवश्यक गृहकार्य भइरहेको छ । विभिन्न निकायसँग समन्वय गरेर निर्वाचन सुरक्षा योजना पनि बनाइरहेको उहाँले बताउनुभयो ।

म्यादी प्रहरीलाई परीक्षालगायत छनोटमा केही सहजता गर्ने प्रहरी प्रधान कार्यालयको योजना छ । गएको वैशाखमा खटिएका म्यादी प्रहरीलाई भर्ना लिँदा स्रोत–साधनको बचत हुने र उनीहरूलाई अनुभव पनि भएकाले सुरक्षामा सहज हुने प्रहरी प्रधान कार्यालयको बुझाइ छ । छनोटका क्रममा पूर्वम्यादी प्रहरीको प्रमाणपत्र हेरिनेछ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।