१६ चैत्र २०८०, शुक्रबार

सजग हुनुहोस् है तीजको ब्रत बस्ने महिला !

teej 1

तीजको अघिल्लो दिन अर्थात् आज दर खाने दिन । तीजको ब्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दू महिलाहरूले दर खाने प्रचलन छ । आज राति अडिलो र मिठा परिकार खाएर सुत्ने र भोलि तीजको दिन ब्रत बस्ने गरिन्छ । ब्रत कस्तो व्यक्तिले बस्ने ?

विवाहित महिलाले पति र सन्तानको दीर्घायुको कामना र अविवाहितले सुयोग्य पतिको चाहना गर्दै तीजको दिन ब्रत बस्ने चलन छ । प्रायः महिलाहरु तीजको दिन ब्रत बस्ने, नाचगान गर्ने, शिवमन्दिरमा पूजाआजा गर्ने गर्छन् ।

धार्मिक आस्थासँग जोडिएको ब्रत बस्ने परम्परा कतिपय व्यक्तिलाई शारीरिक हिसाबले भने समस्या बन्न सक्छ । त्यसैले शारीरिक हिसावले कमजोर, दीर्घ रोगी, रक्तचाप कम वा बढी भएका व्यक्ति ब्रत बस्नु हुँदैन ।

स्वास्थ्यमा समस्या भएका व्यक्ति ब्रत बसेमा, बान्ता आउने, रिंगटा लाग्ने, बेहोस हुने जस्ता समस्या हुन सक्छन् भने कतिपयलाई जटिल समस्या समेत निम्तन सक्छ । तीजमा कतिपय महिला निरहार ब्रत बस्ने गरेका छन् ।

यो समयमा नाचगान गर्ने र धेरै शक्ति खर्चिने भएकाले निरहार ब्रत बस्दा स्वास्थ्यमा झनै समस्या आउन सक्छ । त्यसैले यसबारे ख्याल गर्न र पर्याप्त पानी पिउन पनि चिकित्सकको आग्रह छ ।

वृद्ध, बालबालिका तथा स्वास्थ्यमा समस्या भएका व्यक्तिलाई यस्ता पर्वहरुमा कठोर व्रत आवश्यक नहुने शास्त्रीय मान्यतासमेत रहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।