१३ बैशाख २०८१, बिहीबार

आखिर के का लागि प्रचण्डको गठबन्धन छोड्ने घुर्की ?

prachanda 2

भ्रम पैदा गर्नु, बहकिनु र घुर्की लगाउनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक परिचय हो । र, उहाँको पछिल्लो घुर्की मंसिरमा हुने चुनावका लागि सत्तागठबन्धनबाट धेरैधन्दा धेरै सिट हत्याउनेमा केन्द्रित छ ।

केही दिन पहिले कार्यदलको बैठकमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ६० सिट दाबी गर्‍यो । त्यो संख्या नपाए गठबन्धन छोडेर वामपन्थीबीच मोर्चाबन्दी गर्ने माओवादी अध्यक्ष प्रचण्डको घुुर्की छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पनि अध्यक्ष प्रचण्डले संघमा ६० र प्रदेशमा १२० सिटको अडान राख्नुभयो ।

कार्यकर्ताबीच सिट बार्गेनिङको संख्या जति बढाए पनि दिएको थाप्ने तर गठबन्धन नछोड्ने मनस्थितिमा हुनुहुन्छ प्रचण्ड । नेपाली कांग्रेसको एक पक्षले आफूले १ सय सुरक्षित गरेर ४ दललाई ६५ सिट दिनुपर्ने आवाज बढाउँदै लगेका कारण पनि हुन सक्छ केही दिययता प्रचण्डका अभिव्यक्ति केही कठोर भएको छ ।

प्रचण्ड कांग्रेसले ५० प्रतिशत लिएर बाँकी चार दललाई ५० प्रतिशत सिट छोडोस् भन्ने चाहनामा हुनुहुन्छ । ताकी निर्वाचनमा गठबन्धनका चार दल कांग्रेस हाराहारी सिटमै जीतेर आउन् । त्यसो हुँदा राष्ट्रिय राजनीतिमा अझै केही वर्ष किङमेकर हुने दाहालको चाहना पूरा हुनसक्छ ।

प्रचण्ड सके आउँदो सरकारको नेतृत्व गर्न पाइयोस्, नपाए सरकारमा महत्वपूर्ण हिस्सेदारी रहोस् भन्ने चाहनामा हुनुहुन्छ । कांग्रेसलाई नै साइजमा राख्न प्रचण्डले गठबन्धनमा बाबुराम भट्टराई र बामदेव गौतम भित्र्याउन प्रयास गर्नुभयो । उहाँ लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत गठबन्धनमा भित्र्याएर कांग्रेसमा दबाब बढाउन चाहानुहुन्छ ।

अन्तिम अवस्थामा कांग्रेससँग भागबण्डा नमिले समाजवादी केन्द्र बनाएर चुनाव सामना गर्ने प्रचण्डको रेडिमेड योजना त बाँकी नै छ ।

प्रचण्ड एकातिर कांग्रेससँग सिट बार्गेनिङ गर्दै हुनुहुन्छ भने अर्कोतिर चुनाव लक्षित समाजवादी केन्द्रको अभ्यास पनि । कांग्रेसको सहयोगमा चुनावले एमालेभन्दा ठूलो बनायो भने एमालेकै सहयोग लिएर नयाँ सरकार बनाउन सकिन्छ कि भन्ने मनसाय प्रचण्डमा छिपेको उनी निकटकै नेता अनौपचारिक छलफलमा बताउँछन् ।

प्रचण्डको उलटपलट हुन सक्ने चरित्रले आम नागरिकलाई चाहीँ मुलुकमा जतिबेला पनि संकट आइलाग्न सक्ने आशंका बढ्न थालेको छ ।

बालुवाटारमा बार्गेनिङको फायर खोलेर कार्यकर्ता माझ पुगेर दिएको घुर्कीले सिट बाँडफाँटमा त के असर पर्छ कुन्नी, तर एमालेसँग मिल्छु भन्ने उहाँको अभिव्यक्ति भुईँमा नपर्दै एमाले नेता–कार्यकर्ताले भने प्रचण्ड छिर्ने ढोकामा आग्लो लगाइएको सन्देश छपस्टै पारिसकेका छन् । यसै हो भने प्रचण्डको घुर्की गठबन्धनलाई तर्साउने र कार्यकर्ता बहकाउने साधन मात्रै बन्न सक्ला ।