७ बैशाख २०८१, शुक्रबार

अधिकांश ठाउँमा विजयी बनाउन देशव्यापीरुपमा जुट्न पार्टी पंक्तिलाई अध्यक्ष नेपालकाे आह्वान

madhav nepal
फाइल फोटो

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अधिकांश ठाउँमा निर्वाचनमा विजयी बनाउन देशव्यापीरुपमा जुट्न पार्टी पंक्तिमा आह्वान गर्नुभएको छ।

बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा गएको एक वर्षमा पार्टीको संगठन विस्तारमा योगदान पुर्‍याएका नेता, कार्यकर्तालाई धन्यवाद दिनुभयो।

उहाँले पार्टीले एक वर्षमा गरेको कामको गतिविधिको विषयमा केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनको फेरि मुल्यांकन गर्न पनि आग्रह गर्नुभयो।

त्यहाँ एक वर्षको मुल्यांकन र समीक्षा गरेको भन्नुहुँदै अध्यक्ष नेपालले भन्नुभयो, “हामी कति वटा पालिकामा फैलन सकेका छौं, संगठित सदस्य कति छौं। एक लाख २७ हजार मान्छे संगठित, असंगठितको त कुरै छैन, साधारण सदस्यको संख्या, निर्वाचनमा नौ लाख २७ हजार जनताले साथ दिएका छन्। कसैले यसको अवमूल्यांकन गर्छ भने, ख्याल गरोस्, हामी मुकदर्शक बनेर बस्ने पार्टी होइन।”

बिहीबार बिहान सत्ता गठबन्धनको बालुवाटार बैठकमा यस विषयमा छलफल भएको बताउनुहुँदै उहाँले चारदेखि साढे पाँच लाखको मत आंकलन गरे पनि १५ देखि २० लाखको भोट र यो बराबरको सिट संख्या कसैले रोक्न नसक्ने दाबी गर्नुभयो। यसर्थ, पार्टी पंक्तिमा उहाँले मतदातालाई पार्टीको चुनाव चिह्नबारे प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो।