८ बैशाख २०८१, शनिबार

नेतृत्व क्षमतामाथि पनि प्रश्न ? चुनाव नजिकिँदै गर्दा एकीकृत समाजवादीको अस्तित्व के ?

madhav

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेकपालाई सर्वोच्च अदालतले अवैधानिक भनिदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त सहज बन्यो तर माधवकुमार नेपालका लागि भने अप्ठ्यारो यात्रा शुरु भयो ।

नेकपामा बहुमत सदस्य साथमा रहे पनि पुरानै अस्तित्वमा फर्किएको पार्टीमा कमजोर हैसियत बनेपछि नेपाल विभाजनको बाध्यतामा पुगेका थिए ।

नयाँ पार्टी गठन गरेको एक वर्षमा सत्तामा रमाउने बाहेक एकीकृत समाजवादीले जनतामा खासै सकारात्मक छाप छाड्न सकेको छैन ।

अहिले संघीय सरकारमा एकीकृत समाजवादीका ४ मन्त्री र १ राज्यमन्त्री छन् । दुई वटा प्रदेश सरकारको नेतृत्व गरेको उसले २२ स्थानीय तहको प्रमुखमा जितेको छ । तर यो सबै उसले एक्लै आर्जन गरेको शक्ति होइन ।

गठबन्धनको सहारामा सरकारमा पुगेको एकीकृत समाजवादी आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धनकै भर परेको छ । त्यति मात्र होइन, माओवादी केन्द्रसँग पार्टी नै एकीकरणको प्रयास गर्न थाल्नुले एक वर्षमा नै अस्तित्व संकटमा पर्न लागेको विश्लेषकको बुझाई छ ।

त्यसो त एकीकृत समाजवादीले अझै पार्टी संयन्त्रलाई मुर्त रुपसमेत दिन सकेको छैन । कहिले समाजवादी केन्द्रको नाममा कम्युनिष्ट ध्रुवीकरणको प्रयास त कहिले अरु पार्टीसँग एकताको कसरतमा लाग्दा कार्यकर्तासमेत छिन्नभिन्न हुन थालेका छन् । यसमा नेतृत्व कै कमजोरी देखिन्छ ।

माओवादीसँग एकताको गृहकार्यमा लागेका अध्यक्ष नेपाल आफ्नो पार्टीको दीर्घकालीन भविष्यभन्दा बढी एमालेको शक्ति कमजोर बनाउन उद्धत देखिन्छन् ।

सुरुआती दिनमा दाबी गरेजस्तो पार्टीलाई बलियो बनाउन त नेपालले सकेनन् नै अर्कोसँग विलय गराउने अवस्थामा पुर्याउनुले उनको नेतृत्व क्षमतामाथि पनि प्रश्न उठेको छ ।